
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र शाह ‘बालेन’ लाई काम गर्न दिनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकपछि संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद भण्डारीले काठमाडौंका मेयर बालेनले गरिरहेका काममा अवरोध गर्न नहुने बताएका हुन्।
एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको न्युरोडमा सडकपेटी विस्तार गर्न नदिएको आरोप लगाइरहेका बेला कांग्रेस सांसद भण्डारीले मेयर शाहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गरे।
सांसद भण्डारीले मेयर शाहमा केही गरौँ भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए। ‘बालेनमा केही गरौँ भन्ने हुटहुटी छ। हामीले त्यो काम गर्न दिनुपर्छ। आफूले पनि नगर्ने, नजिक भएको फोहोर नदेख्ने। अनि, बालेनले विश्वको शहरजस्तो बनाउँछु भन्छ भने हामीले निरुत्साहित गर्नु हुँदैन। र, काम गर्न दिनुपर्छ,’ उनले भने।
सांसद भण्डारीले आफू नयाँ पुस्तालाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा रहेको बताए। सांसद भण्डारीले गिरीबन्धु टी-इस्टेट प्रकरण छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए।