भारतमा त्रिशंकु संसद् : यस्तो छ लोकसभामा दलहरूको विगत

हिमाल प्रेस २३ जेठ २०८१ ०:२०
54
SHARES
भारतमा त्रिशंकु संसद् : यस्तो छ लोकसभामा दलहरूको विगत भारतको मुम्बईमा मंगलबार विजयी जुलुसमा सहभागी इन्डिया गठबन्धनका समर्थकहरू। तस्बिर : एएफपी/रासस

काठमाडौँ- भारत सन् १९४७ अगस्टमा ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको हो। स्वतन्त्र भएको चार वर्षपछि पहिलो लोकसभा निर्वाचन भएको थियो। अहिलेसम्म आइपुग्दा भारतीय राष्ट्रिय कांग्रेसले धेरै वर्ष सत्ताको नेतृत्व गर्न पाएको छ।

पहिलो चुनाव १९५१-५२ देखि दुई दशकसम्म निरन्तर कांग्रेसकै वर्चस्व थियो। अझ नेहरू गान्धी परिवार नै सत्तामा पुग्थे। त्यसपछि उदाएको लोक दलको अस्तित्व छैन भने वामपन्थी दल पनि क्रमशः ओरालो यात्रामा छन्।

कांग्रेसपछि भाजपा बढी समय सरकारको नेतृत्वमा पुगेको छ। सन् २०१४ मा उदाएका नेरन्द्र मोदीको दल भाजपाले सन् २०१९ को चुनावमा सिट संख्या बढाएको थियो।

लोकसभाको १८ औँ  निर्वाचनमा भने भाजपा एक्लैले बहुमत ल्याउन सकेन। ५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन २ सय ७२ सिट चाहिन्छ। भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले २ सय ४० सिट जितेको छ। त्यसैले भाजपाबाट बहुमत ल्याएर लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने मोदीको चाहना पूरा हुन पाएन।

२०१४ मा २८२ सिट जितेको भाजपाले २०१९ मा ३०३ सिटमा चुनाव जितेको थियो। यसपटक कुनै पनि दलले स्पष्ट ल्याउन सकेनन्। भाजपा नेतृत्वको एनडीए गठबन्धन २ सय ९३ सिटमा निर्वाचित भएको छ। त्रिशुंक संसद्‌मा मोदी प्रधानमन्त्री सम्भावना भने कायमै छ। एनडीए गठबन्धनमा भाजपासहित ४१ दल छन्।

यसपटकको चुनावमा कांग्रेस ९९ सिटसहित दोस्रो ठूलो दल बनेको छ। अघिल्लो चुनावमा कांग्रेस ५२ सिटमा निर्वाचित भएको थियो। कांग्रेस नेतृत्वमा रहेको  इन्डिया गठबन्धनमा ३७ दल छन्। बीबीसीका अनुसार इन्डिया गठबन्धन २३२ सिटमा निर्वाचित भएको छ। दुवै गठबन्धनमा राष्ट्रिय एवम् स्थानीय दलहरू एकजुट भएर चुनाव लडेका थिए।

यसैगरी समाजवादी पार्टी (एसपी) ३७ सिटसहित तेस्रो ठूलो दल बनेको छ। यस्तै अल इन्डिया तृणमूल कांग्रेस २९ सिटसहित चौथो ठूलो दल बनेको छ।

विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा यसपटकको चुनाव ६ सातामा ७ चरणमा भएको थियो। २८ राज्य र ८ केन्द्र शासित प्रदेशमा भएको चुनावको मतगणना मंगलबार बिहान एकैपटक सुरु भएको थियो।

भारत स्वतन्त्र भएपछि अहिलेसम्म भएका चुनावका केही  तथ्य 

सन् १९५१-५२ :  चुनावमा जवाहरलाल नेहरूले नेतृत्व गरेको कांग्रेस पार्टी सर्वाधिक सिटसहित निर्वाचित भएको थियो। सोही निर्वाचनमा निर्वाचित भएर नेहरू भारतका पहिलो प्रधानमन्त्री बनेका थिए।

त्यति बेला लोकसभाको ४८९ सिटमध्ये कांग्रेसले ३६४ सिट जितेको थियो। कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई) १६ सिटमा जितेर दोस्रो ठूलो दल बनेको थियो। त्यसैगरी सोसलिस्ट पार्टी (एसपी) १२ सिटमा निर्वाचित भएको थियो।

सन् १९५७ :   यो चुनाव पनि जवाहरलाल नेहरूले नेतृत्व गरेको कांग्रेस पार्टी नै धेरै सिटमा निर्वाचित भएको थियो। ४९४ सिटमध्ये ३७१ सिटमा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए। २७ सिट जितेर सीपीआई दोस्रो ठूलो दल बनेको थियो भने प्रजा सोसलिस्ट पार्टी (पीएसपी) १९ सिट जितेर तेस्रो भएको थियो।

सन् १९६२ :  भारतको तेस्रो  लोकसभा निर्वाचनको नतिजा पनि कांग्रेसकै पक्षमा आएको थियो। त्यति बेला कांग्रेस पार्टीको नेतृत्व नेहरूले नै गरेका थिए। ४९४ सिटमध्ये कांग्रेस ३६१ सिटमा निर्वाचित हुँदा २९ सिटसहित सीपीआई दोस्रो ठूलो दल बनेको थियो। यसैगरी स्वतन्त्र पार्टी १८ सिटमा निर्वाचित भएको थियो।

सन् १९६७ : सन् १९६७ मा भएको चुनाव पनि कांग्रेसले नै जितेको थियो। त्यति बेला पार्टी नेतृत्वमा थिइन् इन्दिरा गान्धी। ५२० सदस्यीय लोकसभामा कांग्रेस उम्मेदवार २८३ सिटमा निर्वाचित भएका थिए। ४४ सिटसहित स्वतन्त्र पार्टी दोस्रो भएको थियो भने भारतीय जनसंघ (बीजेएस) ३५ सिटमा निर्वाचित भएको थियो। बीजेएस नै पछि भारती जनता पार्टीमा रूपान्तरण भएको थियो।

सन् १९७१ :  सन् १९७१ को चुनाव परिणाम कांग्रेसकै पक्षमा गयो। पार्टी नेतृत्वमा थिइन् इन्दिरा गान्धी। ५१८ सिटमध्ये कांग्रेस उम्मेदवार ३५१ सिटमा निर्वाचित भएका थिए। २५ सिटसहित दोस्रो ठूलो दल बन्यो भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)। यसै बेला भारतीय कम्युनिस्ट पार्टी विभाजन भएर सीपीएम बनेको थियो। सीपीआई २३ सिटसहित तेस्रो ठूलो दल बनेको थियो।

सन् १९७७ :  कांग्रेस दोस्रो दलमा खुम्चिएको थियो। ५४२ सदस्यीय लोकसभामा भारतीय लोक दलका उम्मेदवार २९५ सिटमा निर्वाचित भएका थिए। कांग्रेस १५४ सिटमा निर्वाचित भएर दोस्रो दल बनेको थियो।

सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले राष्ट्रिय संकटकाल लगाएकी थिइन्। २१ महिना लामो संकट कालका कारण गान्धीका सयौँ आलोचक र राजनीतिक कार्यकर्ता गिरफ्तार भएका थिए। त्यसै बेला भएको चुनावमा उनको पार्टी पराजित भएको थियो। २२ सिटसहित सीपीएम तेस्रो ठूलो दल बनेको थियो।

सन् १९८० :  अघिल्लो चुनावमा पराजित कांग्रेस सन् १९८० को चुनावमा विजयी भएको थियो। ५२९ सिटका लागि भएको लोकसभा चुनावमा कांग्रेस ३५३ सिटमा निर्वाचित भएको थियो। त्यति बेला पनि कांग्रेस नेतृत्वमा इन्दिरा गान्धी थिइन्। ४१ सिटसहित जनता पार्टी दोस्रो बनेको थियो भने सीपीएमले ३७ सिट ल्याएको थियो।

सन् १९८४ :  ५१४ सिटका लागि भएको लोकसभा निर्वाचनमा कांग्रेस ४०४ सिटमा निर्वाचित भएको थियो। यो स्वतन्त्र भारतको इतिहासमा कुनै पनि दलले प्राप्त गरेको सबैभन्दा ठूलो जनादेश हो। त्यति बेला कांग्रेस नेतृत्वमा राजीव गान्धी थिए।

इन्दिरा गान्धीको हत्यापछिको पहिलो चुनाव थियो त्यो। ३० सिटसहित दोस्रो ठूलो दल बनेको थियो तेलुगु देसम पार्टी (टीडीपी)। यसैगरी सीएमसीले २२ सिट जितेर तेस्रो ठूलो दल बनेको थियो।

सन् १९८९ :  सन् १९८९ मा भएको चुनावमा पनि राजीव गान्धी नेतृत्वको कांग्रेस अगाडि थियो। तर बहुमत भने पाउन सकेन। भारतीय लोकसभाको चुनावमा कुनै पनि दलले बहुमत नल्याएको पहिलो चुनाव थियो त्यो। ५२९ सिटमध्ये कांग्रेसले १९७, जनता दलले १४३ सिट र तेस्रो ठूलो दल भाजपाले ८५ सिटमा चुनाव जितेको थियो। जनता दल र भाजपाको संयुक्त सरकार बनेको थियो।

सन् १९९१ :  सन् १९९१ मा भएको चुनामा पीभी नरसिंह राव नेतृत्वको कांग्रेसले ५२१ सिटमध्ये २३२ सिटमा जितेको थियो। १२० सिटसहित बीजेपी दोस्रो ठूलो दल बनेको थियो भने जनता दल ५९ सिटसहित तेस्रो भएको थियो।

सन् १९९६ :  सन् १९९६ मा भएको चुनावमा अटलबिहारी बाजपेयी नेतृत्वको बीजेपी सबैभन्दा ठूलो दल बनेको थियो। ५४३ सिटमध्ये लोकसभामा भाजपा १६१ सिटमा निर्वाचित भएको थियो। दोस्रो ठूलो दल कांग्रेसले १४० र तेस्रो ठूलो दल जनता दलले ४६ सिट जितेको थियो।

सन् १९९८ : सन् १९९८ मा पनि बीजेपी पहिलो ठूलो दल बनेको थियो। नेतृत्वमा थिए उनै बाजपेयी। त्यति बेला बीजेपीले नेसनल डेमोक्रेटिक अलाइन्सको नेतृत्व गरेको थियो। बीजेपीले ५४३ सिटमध्ये १८२ मा निर्वाचित भएको थियो। दोस्रो ठूलो दल कांग्रेसले १४१ र तेस्रो ठूलो दल सीपीएमले ३२ सिटमा चुनाव जितेको थियो।

सन् १९९९ :  यो चुनावमा पनि बाजपेयी नेतृत्वको बीजेपीले १८२ सिट जितेर पहिलो दल बनेको थियो।र ५४३ सिटमा भएको चुनावमा कांग्रेस ११४ सिटसहित दोस्रो र ३३ सिटसहित सीपीएम तेस्रो दल बनेको थियो।

सन् २००४ :  सन् २००४ मा भएको लोकसभा चुनावमा कांग्रेस पहिलो दल बनेको थियो। पार्टी नेतृत्वमा थिइन् सोनिया गान्धी। ५४३ सिटमा भएको चुनावमा कांग्रेसले १४५ सिटमा जितेको थियो। दोस्रो ठूलो दल बन्यो भाजपा। जसले १३८ सिट जितेको थियो भने सीपीएमले ४३ सिट ल्याएको थियो।

सन् २००९ :  मनमोहन सिंहले नेतृत्व गरेको कांग्रेस २०६ सिटमा जितेर पहिलो दल बनेको थियो। ५४३ का लागि भएको चुनावमा भाजपाले ११६ सिट जितेको थियो। २३ सिटमा जितेर समाजवादी पार्टी तेस्रो दल बनेको थियो।

सन् २०१४ :  सन् २०१४ मा नरेन्द्र मोदी नेतृत्वको बीजेपीले २८२ सिटसहित बहुमत पाएको थियो। ५४३ सिटका लागि भएको चुनावमा कांग्रेसले ४४ सिट जितेको थियो।

सन् २०१९ :  सन् २०१९ मा भएको चुनावमा मोदी नेतृत्वको भाजपाले अघिल्लो चुनावमा भन्दा केही सिट बढाएर ३०३ पुर्‍याएको थियो। ५४३ का लागि भएको चुनावमा कांग्रेस ५२ सिटमा निर्वाचित भएको थियो।

भारतीय  सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: २३ जेठ २०८१ ०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast