कोशी प्रदेश : नीति तथा कार्यक्रममा कांग्रेस सहभागी हुने

हिमाल प्रेस २० जेठ २०८१ २०:३०
10
SHARES
कोशी प्रदेश : नीति तथा कार्यक्रममा कांग्रेस सहभागी हुने कोशी प्रदेशसभा बैठक। फाइल तस्बिर

इटहरी- कोशी प्रदेश सरकारले सोमबार ल्याउने नीति तथा कार्यक्रममा नेपाली कांग्रेस सहभागी हुने भएको छ। सरकार गठनसम्बन्धी विवादको मुद्दा किनारा नलाग्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार ल्याउने भए पनि कांग्रेसले सहभागी जनाउने भएको हो।

यसअघि मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा र त्यसपछि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताको विषयमा भएको छलफलका बैठक कांग्रेसले बहिष्कार गरेको थियो। सर्वोच्च अदालतमा मुद्दा थाती रहेको जनाउँदै कांग्रेसले ती बैठक बहिष्कार गरेको थियो। तर सोमबारको बैठकमा भने कांग्रेसका सांसद सहभागी हुने भएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कांग्रेसका केदार कार्की नेतृत्वको सरकार छँदाछँदै संकल्प प्रस्ताव पारित गराएर सरकार विस्थापनको असंवैधानिक प्रयास भएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्दै आएको थियो।

‘नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा हामी सहभागी हुँदैछौँ,’ कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने, ‘प्रतिनिधिसभामा समेत हाम्रो दलको गतिरोध अन्त्य भइसकेको छ। अब यहाँ हाम्रो फरक मत भए पनि आफ्ना कुराहरू सदनमा राख्नुपर्छ भन्ने नै हो। धेरै सांसदहरूले सहभागी हुनुपर्छ भन्ने सुझाव दिनु भएको छ।’

प्रदेशसभामा प्रदेश प्रमुख परशुराम खापुङले सोमबारको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ। सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीका अनुसार प्रदेशमन्त्री परिषद्ले आइतबार आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ।

प्रकाशित: २० जेठ २०८१ २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =