‘लण्डन टु पेरिस’ बाहिर बस्ने नेपाली युवापुस्ताको कथा होः निर्देशक लामिछाने

हिमाल प्रेस २० जेठ २०८१ १५:२४
12
SHARES
‘लण्डन टु पेरिस’ बाहिर बस्ने नेपाली युवापुस्ताको कथा होः निर्देशक लामिछाने

काठमाडौँ- निर्देशक घनश्याम लामिछानेले फिल्म ‘लण्डन टु पेरिस’ मुलुक बाहिर बस्ने नेपाली युवापुस्ताको कथा भएको बताएका छन्। उनले मुलुक बाहिर बस्ने नेपालीको कथा पनि हाम्रै भएको भन्दै यसपटक आफूले फरक विषयवस्तु छानेको दाबी गरेका छन्।

‘हाम्रो बुझाईमा गाउँको कथा मात्र कथा हो भन्ने छ, तर त्यो बुझाई गलत हो। हामी शेर्पा, थारु, गुरुङ, कौडा, रोधीलाई मात्र कथा मान्छौँ। बाहिर बस्ने नेपालीको कथा पनि हाम्रै कथा हो।’ उनले भने ‘मुलुक बाहिर बस्ने नेपाली युवापुस्ताको कथा पनि भन्न आवश्यक छ भनेर नै हामीले यो फिल्म बनाएका हौं।’

निर्देशक लामिछानेले फिल्म विदेशी भूमिमा छायांकन गरिए पनि त्यसको कथावस्तु भने नेपाली परिवेशकै रहेको पनि जानकारी दिएका छन्। ‘लण्डन टु पेरिस’ हाम्रै कथा हो। नेपाली डायस्पोराको कथा हो। लण्डनमा बस्ने नेपाली युवाको कथा हो।’ उनले भने। आफूले विगतमा दर्शकलाई गाउँकै कथा देखाएको भन्दै उनले यसपटक फरक परिवेश रोजेको बताए।

‘मैले हिजोको दिनमा गाउँकै कथा दर्शकलाई देखाएँ । तर आज अलिक फरक परिवेशमा नेपाली कथा नै देखाउँदैछु।’ उनले यसअघि निर्देशन गरेको फिल्म ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ नेपाली परिवेशमा छायांकन गरेका थिए।

निर्देशक लामिछानेले फिल्म हेरिरहँदा दर्शकले कथा बाहिर गए जस्तो अनुभव नगर्नेसमेत दाबी गरेका छन्। ‘हाम्रो फिल्मको कथाका पात्रहरुसँग दर्शक आफूलाई पाउनुहुन्छ। फिल्म अलिकति लार्जर देन लाइफ छ। अहिले हामी एउटै फ्लेभरका फिल्म हेरेर दिक्क भइसकेका छौं। त्यसकारण दर्शकलाई ‘लण्डन टु पेरिस’ ले रिफ्रेस बनाउँछ।’

फिल्ममा प्रेम र धोका दुवैको फरक प्रस्तुतिकरण रहेको उनले उल्लेख गरे। ट्राभल लभस्टोरीको कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्।

फिल्ममा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी, लोक विक्रम मल्ललगायत कलाकारको अभिनय छ।कलाकार निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्म अमित बस्नेतले निर्माण गरेका हुन्। फिल्म यही जेठ २५ गते प्रदर्शन हुनेछ। फिल्म अभेद परवको छायांकन, सजु चन्द्रनको सम्पादन, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफीमा बनेको छ।

प्रकाशित: २० जेठ २०८१ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =