पोखरामा एमालेको निर्वाचन : पृथ्वीसुब्बा र खगराज गुट प्यानलसहित मैदानमा

हिमाल प्रेस २० जेठ २०८१ १४:४०
36
SHARES
पोखरामा एमालेको निर्वाचन : पृथ्वीसुब्बा र खगराज गुट प्यानलसहित मैदानमा

पोखरा- नेकपा एमाले पोखरा महानगरपालिका कमिटीको आगामी नेतृत्वका लागि २ जनाको उम्मेदवारी परेको छ। पोखरा सभागृहमा जारी कमिटीको दोस्रो अधिवेशनअन्तर्गत आइतबार मनोनयनमा अध्यक्षका लागि जीवनप्रसाद आचार्य र दीपक पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। आचार्य हालका सचिव हुन् भने पौडेल अघिल्लो पटक पोखरा महानगरपालिका मेयरको टिकटबाट वञ्चित नेता हुन्।

चुनावमा सर्वसम्मत प्रयास असफल बनेपछि निर्वाचत कमिटीले मनोनयन लिएको हो। गण्डकी प्रदेशमा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुट स्पष्ट छ। गण्डकी प्रदेशको चुनाव होस् वा कास्की जिल्ला कमिटीको चुनावमा गुरुङ र अधिकारी प्यानल स्पष्ट खुलेरै चुनाव लडेकोमा पालिकास्तरमा पनि यो गुट व्याप्त देखिन्छ।

अध्यक्षमा मनोनयन दिएका पौडेल पृथ्वीसुव्वा गुरुङ गुटका हुन्। उनको प्यानलबाट उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का, उपसचिव (खुला) लालबहादुर राना र उपसचिव महिलामा किरण गौतमले मनोनयन दिए।

अध्यक्षमा मनोनयन दिएका आचार्य खगराज निकट हुन्। उनको प्यालनबाट उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत, उपसमितिमा विष्णुप्रसाद गौतम र उपसचिव महिलामा हरिमाया विश्वकर्मा प्रतिस्पर्धामा छन्। उपसचिव खुलातर्फ बलराम गिरीले पनि खुला उम्मेदवारी दिए।

चुनावमा ६८ क्लष्टरमा ५ पदाधिकारी र ९६ जना सदस्य निर्वाचित हुन् छन्। जसमा कुल २ सय २८ जनाले मनोनयन दिएको निर्वाचन अधिकृत अधिवक्ता मदनप्रसाद तिवारीले बताए।

अधिवेशनका लागि करिब ५ सय प्रतिनिधिले भाग लिएका छन्। तीमध्ये आयोजक कमिटीका १ सय १६, सदस्यीय सल्लाहकार समिति ४८ जना, वडा कमिटी २ सय ९६ , जनवर्गीय संगठनबाट ३७ सहित ४ सय ९७ जना प्रतिनिधि सहभागी छन्।

अधिवेशनका लागि कृष्ण थापा नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ। जसको सदस्यमा मञ्जुदेवी गुरुङ, दानबहादुर बानियाँ र वैनहादुर अधिकारी क्षत्री सदस्य छन्।

अधिवेशनको शनिबार आयोजित समारोहमा पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए। गत वर्षमात्रै भएको एमाले गण्डकीको चुनावमा पृथ्वीसुव्वा गुरुङ र कास्की जिल्ला अधिवेशनमा खगराज अधिकारी नेतृत्वले चुनाव जितेको थियो।

मतदान सोमबार बिहान ७ बजेदेखि इलेक्ट्रिक भोटिङमार्फत हुने निर्वाचन कार्यतालिका छ।

प्रकाशित: २० जेठ २०८१ १४:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =