अदालतको आदेश कुर्दै कांग्रेस, पार्टीले छिट्टै प्रधानमन्त्री पाउने महामन्त्री थापाको दाबी

हिमाल प्रेस २० जेठ २०८१ १७:३५
1.1k
SHARES
अदालतको आदेश कुर्दै कांग्रेस, पार्टीले छिट्टै प्रधानमन्त्री पाउने महामन्त्री थापाको दाबी

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस वैकल्पिक सरकार गठनको कसरतमा छ। नयाँ सरकारका लागि गतिविधि गरिरहेका बेला उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटेर जनता समाजवादी पार्टी बन्यो। २४ वैशाख २०८१ मा निर्वाचन आयोगले जसपा नेपाल फुटेर अशोक राईको नेतृत्वमा बनेको जसपालाई वैधानिकता दियो। संघीय संसद्का सात र २९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूसहित नयाँ दल बनेपछि वैकल्पिक सरकार गठनको प्रयासमा रहेको कांग्रेसलाई धक्का पुगेको नेताहरु बताउँछन्।

विभाजित हुनुअगाडि प्रतिनिधिसभामा जसपाका १२ सांसद थिए। सात सांसद विभाजित भएपछि जसपा नेपालको यादव पक्षमा पाँच सांसद छन्। आफ्नो पार्टी फुटविरुद्ध उपेन्द्र यादव सर्वोच्च अदालत गएका छन्। अदालतले जसपा नेपाल फुटलाई यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश दिएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दल फुटाउने सम्बन्धी दफा निष्क्रिय रहेका बेला आफ्नो पार्टी फुटलाई निर्वाचन आयोगले मान्यताले दिएकाले बदर हुनुपर्ने माग उपेन्द्र यादवको छ।

यसअघि हेर्दाहेर्दैमा परेको रिटको पेसी मंगलबारका लागि तोकिएको छ। उक्त मितिमा पनि सुनुवाइ हुन नसके वा अरू धेरै लम्बिए पनि उपेन्द्र यादव नेतृत्वको पार्टी फुटले वैधानिकता नपाउने विश्वासमा कांग्रेस छ।

कानुन निष्क्रिय रहेका बेला नियमावलीअनुसार दल फुट्न नसक्ने उनीहरूको तर्क छ। यस आधारका वैकल्पिक सरकार गठनका लागि प्रयास गरिरहेका दलहरू सर्वोच्च अदालतको आदेश कुरिरहेका छन्।

जसपा फुटले वैधानिकता नपाउँदा उपेन्द्र यादवले यसअघि पाएको १५७ मतमा असर गर्छ। जसपा नेपालबाट फुटेर बनेको नयाँ दलका सातजना सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। जसपा फुटले वैधानिकता नपाउँदा ती सात सांसदलाई उपेन्द्र यादवको ह्विप लाग्छ।

एकीकृत समाजवादी सरकारबाट बाहिरिएको खण्डमा प्रचण्डले यसअघि पाएको १५७ बाट १७ मत कम हुन्छ। यो अंकगणितले प्रचण्ड नेतृत्वको सरकारका लागि विश्वासको मत १४० मा झर्छ। एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रचण्डले पुनः विश्वासको मत लिनुपर्नेछ। त्यस्तो अवस्थामा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी निर्णायक हुनेछन्। यी दुई दलले साथ छोडे वर्तमान सरकार ढल्छ। यसका लागि समेत उपेन्द्र यादव नेतृत्वको पार्टी फुटसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला निर्णायक हुने नेताहरु बताउँछन्।

यस्ता दृष्टान्त देखाउँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापा केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउँछन्। नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई गता साता सम्बोधन गर्दै महामन्त्री थापाले केही महिनामा कांग्रेसबाटै प्रधानमन्त्री बन्ने बताए।

‘केही महिनापछि हाम्रो पार्टीबाट प्रधानमन्त्री बन्दैछ। धेरै स्थानीय तहमा वडा तहसम्म कांग्रेस बढी छ। दायाँ ठोक्किए मेयरसँग र बायाँ उपमेयरसँग नै ठोक्किन्छ। हातमा समय साढे चार वर्ष छ। चुनाव किन जितेको भन्दा सरकारमा पुग्न। सरकारमा अहिले बसिरहेको छ अनि रुवाबासी कहिलेको छ भन्दा २०८४ को सरकार बन्दैन भनेर’, उनले भने।

आफ्नो पार्टीले संघीय सरकारमा जाने कोसिस गरिरहने महामन्त्री थापा बताउँछन्। उपेन्द्र यादव नेतृत्वको जसपा फुटले अदालतबाट वैधानिकता नपाए तत्काल वैकल्पिक सरकार गठनको प्रयास गर्ने कांग्रेसको रणनीति छ। यसका लागि नेकपा एकीकृत समाजवादी र जसपाबीच एकता गर्नेसम्मको तयारीमा नेताहरु छन्।

मधेश प्रदेशको सरकार जोगाउन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेससहितका विपक्षी दलहरुसँग निरन्तर संवादमा छन्। सरकारमा रहेको एकीकृत समाजवादी पनि विपक्षी गठबन्धनमा रहेका नेताहरूसँग निरन्तर संवादमा छन्।

नेताहरूका अनुसार एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्न तयार भएको छ। यसका लागि आवश्यक राजनीतिक कदम चाल्न तयार भएका बेला जसपा नेपाल फुटेपछि तत्कालका लागि वैकल्पिक सरकार गठनको प्रयास केही पर धकेलिएको हो।

उपेन्द्र यादव नेतृत्वको जसपा फुटले अदालतबाट वैधानिकता नपाए तत्काल नेकपा एकीकृत समाजवादीसँग एकता गर्नेसम्मको तयारीमा नेताहरू छन्। पार्टी फुटले वैधानिकता नपाए उपेन्द्र यादवसँग पुनः १२ सांसद हुनेछन्। एकीकृत समाजवादीसँग १० सांसद छन्। यी दुई दल मिले संघीय संसद्मा २२ सिटसहित चौथो शक्ति बन्नेछ।

एकीकृत समाजवादीका नेताहरू जसपा नेपालसँग पार्टी एकताबारे छलफल चलिरहेको बताउँछन्। अघिल्लो वर्षसमेत यी दुई पार्टीबीच पार्टी एकताका विषयमा छलफल चलेको थियो। बीचमा त्यत्तिकै सेलाएको छलफल अघि बढेको नेताहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =