एकीकृत समाजवादीमा गुट छैन, स्वस्थ प्रतिस्पर्धा हुन्छ : नेता दामोदर अर्याल [अन्तर्वार्ता]

हिमाल प्रेस २० जेठ २०८१ १३:५२
434
SHARES
एकीकृत समाजवादीमा गुट छैन, स्वस्थ प्रतिस्पर्धा हुन्छ : नेता दामोदर अर्याल [अन्तर्वार्ता] एकीकृत समाजवादीका नेता दामोदर अर्याल।

नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशन आउँदो असार १६ देखि काठमाडौँमा हुँदैछ। समाजवादीले महाधिवेशनका लागि विभिन्न तयारी गरिरहेको छ। महाधिवेशन सर्वसम्मत बनाउने तयारी भए पनि एउटै पदमा एकभन्दा बढी आकांक्षी देखिएका छन्। महाधिवेशनको तयारी र नेतृत्वको विषयलाई लिएर समाजवादीका नेता एवम् प्रचार विभाग उपप्रमुख दामोदर अर्यालसँग गरिएको कुराकानी :

महाधिवेशनको तयारी कसरी अघि बढ्दैछ ?

अहिले हाम्रो सम्पूर्ण ध्यान महाधिवेशनतर्फ केन्द्रित छ। हाम्रो दसौँ महाधिवेशन असार १६ देखि २० सम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न हुँदैछ। हाम्रो पार्टीको केन्द्रीय कमिटीबाट अनुमोदित राजनीतिक, सांगठनिक, विधान र समाजवादी कार्यक्रमको प्रस्ताव छलफलका लागि जिल्ला र प्रदेश कमिटीहरुमा पठाइसकेका छौँ।

यतिखेर पार्टीको संगठन विभाग संगठित सदस्यहरूको विवरण प्रमाणित गर्न जुटेको छ। प्रचार विभागले प्रचारसम्बन्धी योजना बनाइसकेको छ। अन्य विभाग र महाधिवेशन केन्द्रित संरचनाहरू आआफ्नो काममा जुटेका छन्। हाधिवेशन वर्षायाममा हुन लागेको हुनाले जनप्रदर्शनको कार्यक्रम अलि सानो बनाउने योजनामा छौँ। महाधिवेशन भव्य र सानदार ढंगले सम्पन्न हुँदैछ।

पार्टीमा गुटगत गतिविधिका संकेत देखिँदैछन्। प्रतिस्प कसरी होला?

हाम्रो पार्टीमा गुट छैन। गुटका विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी हो यो। गुटगत अभ्यास हामीले एमालेमा नै बिसाएर आएका छौँ। आवश्यकताअनुसार स्वस्थ प्रतिस्पर्धा त हुने नै भयो।

हाम्रो पार्टीमा कोही ‘बा’ छैनन्। यो ‘बा’ विहीन लोकतान्त्रिक पार्टी हो। हामी आन्तरिक प्रतिस्पर्धामा विश्वास गछौँ र त्यसलाई प्रोत्साहन गर्ने पार्टीको नीति छ। मदन कमरेडको विरासत बोकेको पार्टी भएको हुनाले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुरामा विश्वास राख्छौँ।

केही दिनअगाडि तपाईँ स्वयम् झलनाथ खनाललाई अध्यक्ष बनाउनका लागि खोलिएको सम्पर्क कार्यालयमा उपस्थित हुनुभएको थियो। तपाईँ झलनाथ पक्षधर हो?

त्यस्तो होइन। म हाम्रो पार्टीको इलाम सम्पर्क कमिटीको कार्यालय उद्घाटन गर्ने समारोहमा निम्तालु थिएँ। मेरो त्यहाँको उपस्थिति पार्टी कामकै एउटा हिस्सा हो। मलाई केन्द्रीय सदस्यको हैसियतले बोलाइने पार्टीको औपचारिक कार्यक्रममा जान कसैले रोक्न सक्दैन।

मैले बुझेसम्म त्यो कार्यालय झलनाथ कमरेडको निजी कार्यालय होइन। पार्टीको आधिकारिक कार्यालय हो। गुटगत गतिविधि गर्न कार्यालय चाहिँदैन। कानेखुसी गर्ने ठाउँ यत्रतत्र छ। म गुटगत र षड्यन्त्रको राजनीतिमा विश्वास राख्दिनँ।

मेरो स्वभाव पनि नेताको पछि लाग्ने जस्तो छैन। म विचार र सिद्धान्तको पछि लाग्छु। मेरो सन्दर्भमा माधव कमरेड र झलनाथ कमरेड समान दूरीमा हुनुहुन्छ। दुवैजनालाई बराबर सम्मान गर्छु। महाधिवेशनको हलमा दुईमध्ये एकजनालाई छान्नुपर्‍यो भने मेरा लागि त्यो क्षण अत्यन्त कठिन हुनेछ। भरसक हामी महत्त्वपूर्ण जिम्मेवारीमा सहमतिको प्रयास गर्नेछौँ।

आउँदो महाधिवेशमा कुन पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ?

म आफूलाई विलक्षण प्रतिभा भएको मान्छे हु भन्ने ठान्दिनँ। हाम्रो पार्टीमा म भन्दा धेरै योग्य साथीहरू हुनुहुन्छ। म सांगठनिक जीवनमा क्रमभंग र छलाङमा विश्वास पनि राख्दिनँ। आन्दोलनमा पदभन्दा पनि टिकिरहनु महत्त्वपूर्ण कुरा हो। स्वाभाविक ठानिने पदमा प्रतिस्पर्धा गरौँला। त्यो पनि नेता र साथीहरूको सल्लाहमा मात्र हुनेछ।

२०४५ सालमा आरआर क्याम्पसको स्ववियुको सभापति भयएता निरन्तर पार्टी काममा लागिरहनुभएको छ। पक्कै पनि तपाइको चाहना पदाधिकारी त होला नि ?

मेरो इतिहासबारे मलाई गौरव छ तर इतिहास वर्तमानका लागि बोझ बन्नु हुँदैन। पछिल्लो पुस्ता हामी भन्दा धेरै योग्य छ। अब हामीले उनीहरुलाई पार्टीको नेतृत्वदायी भूमिकामा पुर्‍याउन मद्दत गर्नुपर्छ।

पार्टी पदाधिकारीमा सम्भावित उम्मेदवारहरु को को हुन सक्छन्?

यस विषयमा पार्टीभित्र चर्चा चलेको छैन। उपयुक्त समयमा साथीहरुले चाहना राख्नु होला। अनि महाधिवेशनले आवश्यकता र योग्यतालाई ध्यानमा राख्दै फैसला गर्ला नि।

तपाईंको पार्टीभित्र विभाजन आउने हल्ला छ नि ?

यस सत्यता छैन। हामी मन, वचन र कर्मले एक ढिक्का छौँ। देशीविदेशी प्रतिक्रियावादीहरूको यो कुत्सित चाहना कहिल्यै पनि पूरा हुने छैन।

अन्त्यमा केही राख्न चाहानु हुन्छ ?

सबभन्दा पहिला त म आमजनतालाई हाम्रा दस्तावेजहरुको अध्ययन गरिदिनु हुन अनुरोध गर्दछु। नेपालमा क्रियाशील राजनीतिक दलहरूमध्ये हाम्रो कार्यक्रम सबभन्दा उन्नत छ। त्यसबाहेक हाम्रो महाधिवेशन प्रति चासो राख्न, सल्लाह र सुझाव दिन आह्वान गर्दछु।

प्रकाशित: २० जेठ २०८१ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast