मधेशमा जनमत नेतृत्वमा सरकार बनाउन प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइँदै

हिमाल प्रेस २० जेठ २०८१ १०:५४
24
SHARES
मधेशमा जनमत नेतृत्वमा सरकार बनाउन प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइँदै

जनकपुरधाम- जनमत पार्टीलाई नेतृत्व दिनेगरी मधेशमा ४ दलले प्रदेश प्रमुखलाई ध्यानाकर्षण बुझाउने भएका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत, नेकपा एकीकृत समाजवादीसहितका दलले प्रदेश प्रमुखलाई नयाँ सरकार गठनका लागि ध्यानाकर्षण पत्र बुझाउने भएका हुन्।

अहिले मधेशमा जसपा नेपाल नेतृत्वको सरकार छ। तर संघीय सरकारबाट जसपा नेपाल बाहिरिएसँगै मधेशमा पनि एमाले–माओवादी बाहिरिएका थिए।

जसपा नेपालका सरोज यादवको सरकार अहिले अल्पमतमा छ। नयाँ सरकार गठनका लागि आह्वान गर्न बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउन लागेका हुन्।

गत जेठ १७ गते एमाले, नेकपा माओवादी केन्द्र र जनमतले नयाँ सरकार बनाउने सहमति गरेको थियो।

सत्तारुढ दल एमाले र माओवादीको दबाबपछि एकीकृत समाजवादीसमेत सकारात्मक भएपछि नयाँ सरकार गठनकालागि अगाडी बढ्न लागेको एक प्रदेशसभा सदस्यले जानकारी दिए।

यो गठबन्धनमा लोसपालाई समेत सामेल गर्ने तयारी गरिएको ती प्रदेशसभा सदस्यले बताए। यद्यपि लोसपा अहिले पनि कुनै गठबन्धनसँग छैन। तर एकीकृत समाजवादीले साथ दिए लोसपा बिनै यो गठबन्धनले बहुमत पाउने निश्चित छ।

१०७ सदस्य मधेश प्रदेशसभामा एमालेको २४, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीका ७ सांसद छन्। यो संख्या ५३ पुग्छ।

१-१ सिट भएको नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीमध्ये एउटालाई मात्र जोडेपनि सरकारको लागि आवश्क पर्ने बहुमत संख्या ५४ पुग्छ।

गत वैशाख ३० गते नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन्।

मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी समेत गरेका हुन्।

प्रकाशित: २० जेठ २०८१ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =