समृद्ध गण्डकी प्रदेश बनाउन के गर्ने?

फणीन्द्र देवकोटा    १९ जेठ २०८१ १४:१९
186
SHARES
समृद्ध गण्डकी प्रदेश बनाउन के गर्ने?

हामी पाँचबर्से कार्यकालका लागि जनमतद्वारा निर्वाचित भएर आएका हौँ। म नेपाल समाजवादी पार्टीको तर्फबाट निर्वाचित भएर आएको हुँ। हामीले चुनावमा राजनीतिक अधिकारसहित भाग लियौँ। मेरो पार्टीको पहिचानसहित उम्मेदवार भएँ। मलाई नेपाल समाजवादी पार्टीकै रूपमा व्यवहार गर्न सभामुख र सचिवालयलाई अनुरोध गर्न चाहन्छु।

समुन्नत समाजवाद निर्माण संविधानको परिकल्पना हो। समुन्नत समाजवाद लेख्न किन कन्जुस्याइँ गर्ने? नीति तथा कार्यक्रम ल्याउनुपर्ला, बजेट पास गर्नुपर्ला। समाजवाद भन्ने प्रतिपक्षतिर धेरै संख्या देख्छु। समाजवाद नै छोडिदिएपछि पास गर्न गाह्रो पर्दैन? संविधानले भनेको कुरामा ध्यान दिनुपर्छ।

हामीले संघीयता सबलीकरणका कुरा गरिरहेका छौँ। राजनीतिक संघीयता खोइ? हामी सबै राजनीतिक दलका नेता हौं। हाम्रो प्रदेशमा राजनीतिक संघीयता अभ्यास गर्न सक्यौं कि सकेनौं? आज यसको मार भोगिरहेका छौँ। जबसम्म स्थिर सरकार बन्दैन तबसम्म गण्डकी प्रदेश समृद्ध बन्न सक्दैन। विकास र समृद्धिको यात्राअगाडि जान सक्दैन। जनताको अपेक्षा पूरा हुन सक्दैन।

समुन्नत गण्डकी बनाउनका लागि नारामै भन्न चाहन्छु ‘म चाहन्छु मेरो राष्ट्रपति, म चाहन्छु मेरो मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित’ बनाउनतिर लाग्न प्रयत्न गर्छौं कि गर्दैनौं? जबसम्म त्यो गर्न सक्दैनौं जबसम्म सरकारको स्थायित्व हुँदैन, राजनीतिक विश्वास गुम्दै जान्छ। बाहिर मडारिरहेको कालो बादलले हामीलाई लैजानसक्छ।

सुशासनतर्फ हेर्ने हो भने विकासको बाधक भ्रष्टाचार हो। यसको अन्त्य गर्नको लागि प्रयत्न गर्नैपर्छ। ‘अन्त्य गरौं भ्रष्टाचार, बनाऔँ समृद्धिको आधार’ भन्ने मूल नारालाई जबसम्म अगाडि लैजान सक्दैनौँ तबसम्म हाम्रो प्रदेशलाई अगाडि बढाउन सक्दैनौं। गण्डकी प्रदेश आत्मनिर्भर बनाउनका लागि हाम्रो ठोस कार्यक्रम के हुन्? ‘मेरो उत्पादन, मेरो मूल्य, पारीको रोकौं, बारीमा रोपौँ’ भन्ने अभियान चलायनौं भने हामीले प्रदेशलाई आत्मनिर्भर बनाउन सक्दैनौं। हाम्रो प्रदेश केमा हो आत्मनिर्भर बन्ने? किटान गर्न सकेका छैनौं।

विकासका आयाम के के हुन्? भौतिक विकास? उत्पादन र उत्पादकत्व वृद्धि? अधिकारमा आधारित सामाजिक न्याय? वर्गीय, जातिय, लैंगिक, क्षेत्रमा हामी चुकेका त छैनौं? वातावरण संरक्षणको दीगो विकासको लक्ष्यमा पुग्नको लागि आत्मिक तथा सांस्कृतिक जीवन पद्धतिबारे सोच्ने प्रयत्न गरेनौं भने हामीले परिकल्पना गरेको ठाउँमा पुग्न सक्दैनौं।

विकासको नीति कस्तो हुने हो? हामीले तीव्र उत्पादन र रोजगारी वृद्धिको रेखाङ्कन गर्नुपर्छ। स्वदेशी र विदेशी लगानीको लागि सन्तुलित सम्बन्ध कसरी कायम गर्ने? त्यतातिर ध्यान दिनुपर्छ। श्रम र आधुनिक प्रविधिको सन्तुलन, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्न हाम्रो प्रदेशमा के हुनसक्छ? के के गर्नसक्छ? हरित अर्थतन्त्र र पर्यावरणमा हामीले कसरी ध्यान दिन्छौं? हाम्रो नीति तथा कार्यक्रममा समेट्न सक्छौं कि सक्दैनौँ? कृषिको व्यवसायीकरण, आधुनिकीकरण, सडक, बिजुली, शिक्षा, पानी, सञ्चार, स्वास्थ्य, पूर्वाधारको क्षेत्र पर्यटन, उत्पादन, उद्योग र आईसीटी हाम्रा मोडेल उत्पादनमा ध्यान दिनैपर्छ।

सामाजिकतर्फ, आमा। आमा सम्मानित शब्द हो। ममतामयी आमा। तर आज नारीहरुको पीडा छ। आजका नारी भोलिका आमा हुन्। आमालाई सम्मान गर्ने थालनी गर्न सक्छौं कि सक्दैनौं? त्यसैगरी जातिय विभेद छ। मेरो रगत पनि रातो छ भन्ने अभियानबाट ती समुदायलाई अगाडि बढाउन सक्छौं कि सक्दैनौं? हामीले त्यतातिर कार्यक्रम सोचेका छौं कि छैनौं? त्यसैगरी ‘स्वस्थ आहार मेरो अधिकार’ कार्यक्रम ल्याउन सक्छौं कि सक्दैनौं?

नेपाल समाजवादी पार्टी (नेसपा) का गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले प्रदेशसभाको छैठौँ अधिवेशनको छैठौँ बैठकमा राखेकाे विचार]

प्रकाशित: १९ जेठ २०८१ १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =