देवीदेवताका कलाकृतिले भरिभराउ कला परिषद्

सुस्मिता बजगाईं १९ जेठ २०८१ १४:३३
200
SHARES
देवीदेवताका कलाकृतिले भरिभराउ  कला परिषद् नेपाल कला परिषद्‌मा प्रदर्शनीमा राखिएका देवीदेवताका मूर्तिहरू। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- नेपाल कला परिषद्को माथिल्लो तलामा प्रवेशपछि ढोकाबाटै एउटा आकृतिमा आँखा ठोक्किए। तल चतुर्भुज आकारमा रातो माटोले लिपेको। त्यसमाथि इँटामा कला भरेर बनाइएको षट्कोण आकृति। अगाडि मन्दिरको ढोका र माथि काठको गजुर। बीचमा शिवलिंग। पछाडि साँढे। माटो, इँटा र काठमा कला भरेर बनाइएको कलात्मक मन्दिर। आकर्षक ढंगले सजाइएको यी कलाकृति ‘नेपालका देवताहरू’ प्रदर्शनीमा राखिएको छ।

देवीदेवता भन्नेबित्तकै हामी आफूले पुज्दै आएको भगवान्‌को नाम सम्झिन्छौँ। हामीले मान्दै आएका देवताका स्वरुपले यतिबेला बबरमहलस्थित नेपाल कला परिषद्को भवन भरिभराउ छ। भुइँतलादेखि माथिल्लो तलासम्म परम्परागत देवीदेवताका लोक, आधुनिक र समसामयिक कलाकृतिलाई एउटै धरातलमा अन्तर्निहित गरी सजाइएको छ। देवताहरुलाई तीन तलाका विभिन्न स्वरुपलाई संगृहीत गरिएको छ। एउटै देवताका कलाकारले कारेका विभिन्न आकृति लामबद्ध गरेर एकै लहरमा कलात्मक ढंगले सजाइएको छ।

कुन तलामा के के छन्?

भुइँतलाको दाहिनेतिर हिन्दु र बौद्ध धर्मका आधारभूत सिद्धान्तहरू, ग्रह देवताहरु लोकेश्वर र योगिनी, तारा, सिद्धपुरुष, महांकाल, भैरवका साथै देवीदेवताका वासस्थलहरुको कलाकृति सजाइएको छ। त्यस्तै देब्रेतिर नेपालबाट हराएको र फर्किएका देवीदेवताहरुको फोटो राखिएको छ।

दोस्रो तल्लामा इँटा, काठ र माटोमा कलाकृति भरेर सजाइएको मन्दिर, गणेशका विभिन्न स्वरुप, शव बोकेका शिव, नाट्यश्वरी देवताहरु, मसान भैरव, रातो मुखौटा, कुमारी, लक्ष्मी नारायण, नृत्य देवताहरु, ब्रह्मायणी, भद्रकाली नृत्यलगायत देवताहरुका तस्बिर छन्। साथै सूर्य छठपर्व, अष्टमंगल देवी, गंगा, भगवती, आकाश भैरव, नारायण, जानकी मन्दिर, विष्णुको अवतार, सत्यनारायण भगवान, कृष्ण लीला, अर्धनारीश्वर, बुद्ध जन्मस्थानलगायत तस्बिर छन्।

माथिल्लो तलाको प्रवेशमै युरोपियन कलाकार नेल्सन फिरेराको मोबाइल फोनको फ्ल्यास लाइटबाट मात्र हेर्न सकिने ‘पेन्टिङ विथआउट पेन्ट’ नामक कलाकृति छ। साथै भित्र कमलको फूलको धार्मिक महत्त्वबारे डिजिटल माध्यमबाट एनिमेसन गरिएको छ। नेपालको धातुकलाको निर्माण शैलीको शुभारम्भदेखि अन्तसम्मका चरणबद्ध रूपमा भिडियो पनि हेर्न सकिन्छ।

त्यस्तै भैरव र इन्द्रको मुखौटादेखि अष्टमातृका, वज्रयोगिनी, आकाश योगिनी, २१ तारा, शाक्यमुनि, वनकाली, नरदेवी, उग्रतारा देवी, त्रिरथ, शिव ताण्डव, गणेश र भीमसेन, कुमार, लोकितेश्वर, महांकाल, बसुन्धरा, मयुरी, उमा महेश्वरलगायत थुप्रै कलाकृति सजाइएको छ।

प्रदर्शनीमा आधुनिक कला, परम्परागत कला, लोककला र समसायिक कलाअन्तर्गत १६३ जना वरिष्ठदेखि नवकलाकारले सिर्जना गरेका दुई सय ३५ थान उत्कृष्ट कलाकृति छन्।

नेपाल कला परिषद् तथा नेपाल हस्तकला महासंघले आयोजना गरेको यो दोस्रो प्रदर्शनी हो। यसअघि सन २०२२ मा प्रदर्शनी सम्पन्न गरिएको थियो। पहिले दुई तलामा मात्र सीमित गरिएको प्रदर्शनी यस वर्ष तीन तलामा सजाइएको छ।

परम्परागतदेखि समकालीन कलालाई समेटेर बृहत् प्रदर्शनी गर्ने योजनामा एकै तस्बिरमा पाइने विविधता खोज्दा नेपालका देवताहरु छनोटमा परेको नेपाल कला परिषद्की क्युरेटर स्वस्ति राजभण्डारी कायस्थले बताइन्। परम्परागतदेखि समकालीन कलालाई समेटेर एउटा ठूलो प्रदर्शनी गर्ने पहिलेदेखिको योजना थियो’, उनले भनिन्, ‘यसबारे हाम्रो लामो समय छलफल गर्‍यौँ। निष्कर्षमा भगवान्‌को मूर्तिमा धेरै भेराइटी फेला पार्‍यौँ। जस्तो कि गणेशको आकृतिमा नव कलाकार, पुराना कलाकार, मूर्तिकार, चित्रकारले बनाएका आ-आफ्नै कलाकृति।’

पुराना कलाकारले बनाउने शैली र नवकलाकारको तरिका सबैलाई एकै ठाउँमा जोड्ने र परिषद्लाई लोकतान्त्रिक तरिकाबाट अगाडि बढाउने योजनामा देवताका कलाकृति प्रदर्शनीको आयोजना गरेको उनले बताइन्। नेपाल र नेपालबाहिर बसेका नेपाली कलाकारलाई सूचनामार्फत प्रदर्शनीका लागि कला माग गरिएको थियो उनका अनुसार ‘जुरी’ मार्फत कलाकृति छनोट गरिएको थियो।

‘पहिले नेपाल बाहिर र भित्र रहेका नेपालीलाई यो थिममा प्रदर्शनी गर्न लागेको भनेर खबर गर्‍यौँ। उहाँहरूले पठाएका फोटो प्रिन्ट गरेर जुरीमार्फत छानिएपछि प्रदर्शनीमा राखेका हौँ’, उनले भनिन्। प्रदर्शनीले आगन्तुकहरुमा हिन्दु र बौद्ध धर्मको उत्पत्ति र आधारभूत सिद्धान्तहरू, नेपालको मौलिक धर्म, दर्शन र देवीदेवताहरूप्रति आशा जाग्ने उनको विश्वास छ।

पहिलो प्रदर्शनीबाट हौसला पाएपछि आत्मविश्वासको साथ दोस्रो प्रदर्शनी आयोजना गरेको परिषदकी कार्यसमिति सदस्य उर्वशी रानाले बताइन्। ‘पहिलो प्रदर्शनीबाट हौसला पाएपछि हाम्रो आत्मविश्वास बढ्यो। थप महत्त्वाकांक्षासहित दोस्रो प्रदर्शन सुरु गरेका हाैँ’, उनले भनिन्। प्रदर्शनी भनेको पुराना सम्पदा नयाँ पुस्तालाई चिनाउने माध्यम पनि रहेकोले यस वर्ष युवापुस्तालाई लक्षित तस्बिर राखिएको उनले बताइन्।

नेपालका सांस्कृतिक सम्पदाबारे जानकारी गराउने उद्देश्य प्रदर्शनी आयोजना गरेको उनको भनाइ छ। प्रदर्शनीमा वृद्धदेखि बालबालिकाहरु आइरहँदा खुसी लागेको बताउँदै उनले भनिन्, ‘कतिपय आगन्तुकहरु ढोकामै जुत्ता खोलेर प्रवेश गर्नुहुन्छ।’ युवापुस्तालाई परम्परागत धार्मिक सम्पदाबारे कम जानकारी हुने भएकोले उनीहरुलाई बढी लक्षित गरिएको रानाले बताइन्। जेठ ८ मा सुरु भएको प्रदर्शनी २८ गतेसम्म चल्नेछ। बिहान साढे १० बजेदेखि बेलुका साढे पाँच बजेसम्म खुला रहने प्रदर्शनीमा प्रवेश निःशुल्क छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nine =