सहुलियतपूर्ण कर्जा वितरणमा ७ प्रतिशत रकम दुरुपयोग

हिमाल प्रेस २९ जेठ २०८१ ११:४० | Tuesday, June 11, 2024
सहुलियतपूर्ण कर्जा वितरणमा ७ प्रतिशत रकम दुरुपयोग

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुँदै आएको सहुलियतपूर्ण कर्जाको ७ प्रतिशत रकम दुरुपयोग भएको छ। बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा प्रवाह गर्दा अनुदान रकम दुरुपयोग गरेको जानकारी नेपाल राष्ट्र बैंकले दिएको हो।

राष्ट्र बैंकका अनुसार २०८० वैशाख मसान्तसम्म १ लाख ९० हजार २१२ जना ऋणीले १ खर्ब ८० अर्ब ५० करोड रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरेका छन्। ऋणीले उपभोग गरेकोमध्ये ७ प्रतिशत कर्जा दुरुपयोग भएको बैंकको तथ्यांक छ।

सहुलियत कर्जा प्रवाहमा ३२ हजार ७ सय ७४ ऋणीको फाइल अध्ययन गर्दा करिब ७ प्रतिशत कर्जा सदुपयोग नभएको पाइएको राष्ट्र बैंकले जनाएको छ। सहुलियत कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले गरेको दुरुपयोगबारे अध्ययन भइरहेको र ऋण प्रवाहमा कमजोर भेटिएका बैंक तथा वित्तीय संस्थामाथि कारबाही गरिने राष्ट्र बैंकको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।

कर्जा प्रवाहमा भएको दुरुपयोगका विषयमा अहिले अध्ययन भइरहेको छ। केही बैंक र वित्तीय संस्थाले कर्जा दुरुपयोग गरेको आरोपमा कारबाही गर्ने समेत तयारी भइरहेको प्रवक्ता भट्टको भनाइ छ। अनुदान र सुविधाको सही उपयोग गर्न पनि केन्द्रीय बैंकले अपिल गरेको छ। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार कर्जा प्रदान गर्न विभिन्न सर्त तथा मापदण्ड तोकिएको बैंकले जनाएको छ।

नेपाल सरकारले लागू गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ मार्फत १० शीर्षकमा बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्रवाह गदै आएका छन्।

बैंक तथा वित्तीय संस्थामार्फत यकिन गराई ब्याज अनुदान तथा सुविधा फिर्ता गराउने एवं यस्तो कार्यमा प्रत्यक्ष रूपमा संलग्न भएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सम्बन्धित संस्थाबाट विभागीय कारबाही गर्नेलगायतका कारबाही प्रक्रिया अगाडि बढाउन २०८० माघ राष्ट्र बैंकको सञ्चालक समितिबाट निर्णय भएको थियो।

सोही निर्णयका आधारमा सम्बन्धित सुपरीवेक्षण विभागमार्फत आवश्यक प्रक्रिया अघि बढाइसकिएको राष्ट्र बैंकले जनाएको छ। विभिन्न निकायबाट प्राप्त हुने अनुदान एवं सुविधा जिम्मेवारी रूपमा वितरण नगर्ने बैंकमाथि राष्ट्र बैंकले कारबाही गर्दै आएको छ।

बैंकहरूले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितहरूको निजी आवाश निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि कर्जा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌बाट प्राप्त संस्थाबाट लिइने तालिमका लागि कर्जा र युवा वर्ग स्वरोजगार कर्जा  प्रवाह गर्दै आएका छन्।

यी १० क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्रवाह २ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म वितरण गर्दै आएका छन्।

प्रकाशित: २९ जेठ २०८१ ११:४० | Tuesday, June 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast