काठमाडौँ- आईसीसी टी-२० विश्वकप २०२४ को ‘सुपर ८’ को खेलमा वेस्ट इन्डिजमाथि इंग्ल्यान्डले सहज जित निकालेको छ।
सुपर-८ चरणको समूह-२ मा रहेको इंग्ल्यान्ड दुई अंकसहित तालिकाको पहिलो स्थानमा छ।
समान अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ।
सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८० रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको इंग्ल्यान्डले भने १७.३ ओभरमा दुई विकेट गुमाएर विजय लक्ष्य पूरा गर्यो।
इंग्ल्यान्डको जितमा ओपनर फिल साल्टले अविजित ८७ रनको योगदान गरे। प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ४७ बलको सामना गरी पाँच छक्का र सात चौका पनि प्रहार गरे। अर्का ओपनर जस बट्लरले पनि २५ रन बनाए।
कप्तान बट्लरले २२ बलमा दुई चौका प्रहार गरे। ओपनिङ विकेटका लागि साल्ट र बट्लरले ६७ रनको साझेदारी गरे। चौथो नम्बरका ब्याट्सम्यान जोनी बेयरस्टोले पनि अविजित ४८ रन बनाए।
उनले केवल २६ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए।
मोइन अलीले टोलीको खातामा १३ रन थपे। क्यारेबियन टोलीका बलर आन्द्रे रसेल र रोस्टन चेजले एक-एक विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि ओपनर जोन्सन चाल्र्सले सर्वाधिक ३८ रन बनाएका थिए।
निकोलस पुरन र कप्तान रोभपन पोवेलले ३६-३६ रन बटुले । सेरफन रुथरफोर्ड २८ रनमा अविजित रहे। ओपनर ब्रान्डन किङले २३ रन बनाए।
उनी रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए। इंग्ल्यान्डका बलर जोफ्रा आर्चर, अदिल रसिद, मोइन अली र लियाम लिभिङ्स्टोनले एक-एक विकेट लिए।



