वियोगीको ‘कालिञ्चोक’ सार्वजनिक

हिमाल प्रेस ८ असार २०८१ १९:३४ | Saturday, June 22, 2024
6
SHARES
वियोगीको ‘कालिञ्चोक’ सार्वजनिक

काठमाडाैँ- रामचन्द्र घिमिरे ‘वियोगी’ को ‘कालिञ्चोक’ महाकाव्य सार्वजनिक भएको छ।

नेपाल संस्कृत विश्वविद्यालय, बाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालको सभाध्यक्षता र महेन्द्र संस्कृत विश्वविद्यालयका प्रथम शिक्षाध्यक्ष, न्याय तथा तन्त्र विद्याकेशरी एवं तन्त्रविद्या शिरोमणि प्रा.विद्यानाथ उपाध्याय भट्टको प्रमुख आतिथ्यमा काठमाडौँमा महाकाव्य लोकार्पण गरिएको हाे।

कार्यक्रममा प्रा.डा.मोहन तिमल्सिनाले महाकाव्यकारको जीवनीमाथि प्रकाश पार्दै महाकाव्यकार घिमिरे संस्कृत विश्वविद्यालयबाट पौरस्त्य नव्यन्याय दर्शनमा आचार्य, त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर हुनुका साथै कानुन विषयमा समेत अब्बल सावित भई रामेछाप जिल्ला अदालतमा अभिवक्ताका रूपमा लामो समयसम्म वकालत पेसामा सक्रिय रहेको बताए।

कार्यक्रममा संस्कृत विश्वविद्यालयका प्रा.डा.लेखप्रसाद निरौला र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.शैलेन्दुप्रकाश नेपालले कृतिमाथि समीक्षात्मक टिप्पणी राखेका थिए। त्यस्तै छन्द कविताका अभियन्ता, संस्कृत विश्वविद्यालयका प्रा.डा. देवी नेपालले महाकाव्यका श्लोक वाचन गर्नुका साथै कृतिको समीक्षा गरी कृतिको महत्त्व बताएका थिए।

कार्यक्रममा युवा पुस्ताका सन्तोषी श्रेष्ठ र कौडिन्य पराजुलीले महाकाव्यको श्लोक वाचन गरेका थिए। लेखककी धर्मपत्नी भगवती घिमिरेको प्रकाशनमा सार्वजनिक भएको ‘कालिञ्चोक’ महाकाव्य धर्म, संस्कृति र प्रकृतिको त्रिवेणी बन्न सफल भएको विद्वान्हरूको अभिमत रहेको छ।

यसअघि एक महाकाव्य र दुई खण्डकाव्यसहित ६ ओटा काव्यकृति प्रकाशन गरिसकेका ‘वियोगी’ को ‘कालिञ्चोक’ सातौँ कृति हो। कालिञ्चोक देवीलाई नायिका बनाई लेखिएको यस महाकाव्यमा कालिञ्चोक देवीको उत्पत्तिको प्रसङ्गका साथै कालिञ्चोकको प्रकृति र इतिहास चित्रण गरिएको छ।

महाकाव्य सार्वजनिकीकरण समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वकूल सचिव तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्याय, नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेल र छन्द कविताका अभियन्ता, त्रिभुवन विश्वविद्यालयका प्रा.डा.रामप्रसाद ज्ञवालीको विशिष्ट अतिथिका रूपमा उपस्थिति रहेको थियो।

प्रकाशित: ८ असार २०८१ १९:३४ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast