 
                             
                                            झापा- पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार विरुवा रोपिएका छन्। जुकेखाडी सामुदायिक वनले उक्त ती विरुवा रापेको हो।
सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा विरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए। ‘एक उपभोक्ता एक विरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौं उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका विरुवा रोपिएको उनले जानकारी दिए।
जिल्लाको उत्तरी भेगमा जंगली क्षेत्र छ। जहाँ भारतबाट बर्सेनि आउने सयौं हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको संख्यामा रहेको रैथाने जंगली हात्तीले यही जंगललाई बासस्थान बनाउने गरेका छन्। हात्तीबाहेक जंगलमा बस्ने बाँदरबाट पनि जंगल नजिकका बासिन्दा पिरोलिँदै आएका छन्। अहिले रोपिएका फलफूलका विरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीले ठानेका छन्।
जंगली जनावर जंगलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका विरुवा रोपिएको हो। आगामी वर्ष २० हजार विरुवा रोप्ने योजना रहेको उनले बताए। हाल जंगलमा हात्ती र बाँदरका खानलायक बोटविरुवा मासिइसकेका कारण समस्या भएको छ।
दिउँसो जुकेखाडी जंगलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव–हात्ती द्वन्द्व हुने भएकाले ती विरुवाले हात्तीलाई जंगलमै अल्मल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपीन राईले बताए।
‘आहारको खोजीमा बस्तीमा पसेर हात्तीले दुःख दिने गरेका छन्। जंगलमा नै आहार पाएपछि ती गाउँ पस्न छाड्छन्, यसो हुँदा मानव–हात्ती द्वन्द्व घटाउन सहयोग पुग्छ,’ उनले भने।
समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा तीन हजार पाँच सय ५८ उपभोक्ता छन्। जंगलमा विरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैंले घरबाट विरुवा संकलन गरेका थिए। जिल्ला डिभिजन वन कार्यालयले थप तीन हजार विरुवा दिने भएको समितिले जनाएको छ।
उक्त कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ–आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बासँलगायत विरुवा रोप्ने गरेका जानकारी दिए। वन कार्यालयको पनि उनीहरूलाई विरुवा उपलब्ध गराएर सहयोग गर्ने नीति रहेको उनले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 