योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरौँ : प्रधानमन्त्री

हिमाल प्रेस ७ असार २०८१ ७:५५ | Friday, June 21, 2024
योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्।

दसौँ विश्व योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गरे।

नागरिकलाई स्वस्थ, नैतिकवान् र जिम्मेवार बनाउन योगको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गरे।

‘योगाभ्यासबाट रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुनेछ’, शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्।

प्रधानमन्त्रीले नेपाल शिव, जनक र बुद्ध सभ्यताको त्रिवेणीका रुपमा रहेको र यस हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिले दीर्घ तपः साधनाको माध्यमबाट योगअभ्यासको विकास र प्रवर्द्धन गरेका उल्लेख  गरे।

‘उहाँहरूले प्रदान गरेको योग अभ्यासको ज्ञान र परम्परा अहिले पनि उत्तिकै सान्दर्भिक र जीवनका लागि ऊर्जा प्रदायक छ’, प्रधानमन्त्री दाहालले भने,‘त्यसैले वर्तमान परिवेशमा योगाभ्यास र शिक्षासम्बन्धी उचित नीतिको प्रबन्ध, प्रभावकारी संरचनात्मक व्यवस्था र नेपालको अभ्यासको विश्वव्यापीकरणमा ध्यान दिनुपर्दछ।’

यसबाट योग पर्यटन विस्तार गर्न सकिने उनको भनाइ थियो। ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ यसवर्ष विश्व योग दिवस मनाइँदै छ।

प्रकाशित: ७ असार २०८१ ७:५५ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast