यमनसँग बराबरीमा रोकियो नेपाल

हिमाल प्रेस ३० जेठ २०८१ ७:०९ | Wednesday, June 12, 2024
यमनसँग बराबरीमा रोकियो नेपाल

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमको निरन्तर ५ खेलको गोलको खडेरी अन्त्य भएको छ।

गए रातिको यमनसँगको खेलमा नेपालले दुई गोल गरेसँगै छैटौँ खेलमा पुगेर गोलरहित हुने स्थितिमा ब्रेक लागेको छ। यद्यपि, प्रतिस्पर्धी टोली यमनले पनि दुई गोल गरेसँगै खेल बराबरीमा रोकिएको छ।

फिफा विश्वकप फुटबल २०२६ छनोट खेल अन्तर्गत साउदी अरबमा नेपाल र यमन प्रतिस्पर्धामा उत्रिएका हुन्।

नेपाल सुरुवातमा नै पछि परेको थियो। नवौँ मिनेटमा पेनाल्टीमार्फत नासेर अल-घवासीले यमनलाई अग्रता दिलाएका थिए। तर, २२ औँ मिनेटमा सञ्जिव विष्टले नेपालका लागि बराबरी गोल फर्काए।

दोस्रो हाफको ६६ औँ मिनेटमा जिलेस्पी जंग कार्कीले नेपालाई अग्रता दिलाए । तर, ९१ औँ मिनेटमा मोहम्मद अल दाहीले गोल फर्काएपछि नेपाल बराबरी खेल्न बाध्य बन्यो।

यता नेपाली टोलीका कप्तान किरन चेम्जोङले नेपाली राष्ट्रिय टोलीका लागि १ सयौँ खेल पूरा गरेका छन्। उनलाई खेलअघि १ सय नम्बर लेखिएको जर्सी प्रदान गरिएको थियो।

यसअघि नेपाली टोलीले दुई खेलमा यूएईसँग क्रमशः ४-० गोल र ४-० गोलले पराजित भएको थियो। नेपाली टोलीलाई यमनले पहिलो खेलमा २-० गोलले हराएको थियो।

यमनविरुद्धको दोस्रो खेल मंगलबार राति खेल्न लागिएको हो। नेपालले बहराइनसँग भने दुई खेलमा क्रमशः ५-० गोल र ३-० गोलको हार भोगेको थियो।

प्रकाशित: ३० जेठ २०८१ ७:०९ | Wednesday, June 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast