मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ : पूर्वअर्थमन्त्री महत

हिमाल प्रेस २८ जेठ २०८१ ११:५६ | Monday, June 10, 2024
मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ : पूर्वअर्थमन्त्री महत फाइल तस्बिर

काठमाडौँ- पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन्।

साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज यहाँ आयोजित ‘आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि अनुशासनको खाँचो रहेको बताए ।

नेपाली कांग्रेसका प्रवक्ता डा। महतले कुन क्षेत्रमा कति बजेट विनियोजन गर्दा मुलुकको आर्थिक विकासमा सहयोग पुग्छ त्यसको बारेमा सरकारले पहिल्यै यकिन गर्न आवश्यक रहेको बताए ।

उनले भने,’रु तीन करोडभन्दा साना आयोजना केन्द्र सरकारले नराख्ने भनी आर्थिक कार्यविधि अनुमोदन गरे पनि वर्तमान सरकारले उक्त कार्यविधिलाई कार्यान्वयनमा लैजान सकेको छैन ।’

उनले आन्तरिक स्रोतबाट रु ९० अर्ब ऋण लिने बजेट वक्तव्यमा उल्लेख भएको जनाउँदै उक्त पैसा निजी क्षेत्रमा प्रवाह हुँदा बैंक तथा वित्तीय संस्थाको ब्याजसमेत बढ्ने उल्लेख गरे । ‘बैंक तथा वित्तीय संस्थाबाट सरकारले ऋण लिँदा निजी क्षेत्रमा उपलब्ध ऋणसमेत कम हुने भएकाले यसले अर्थतन्त्रलाई समेत प्रभाव पर्ने मैले देखेको छु,’ उनले भने ।

अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार प्राडा सूर्यबहादुर थापाले देशलाई सही दिशामा लैजानका लागि अहिलेको बजेटले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बजेटले नयाँ नीति तथा कार्यक्रमलाई अगाडि बढाएको उल्लेख गरेका हुन् ।

नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले उत्पादन क्षेत्रमा लगानी गर्न सकेमात्र देशको विकास हुने उल्लेख गरे । साउथवेस्टन स्टेट कलेजका प्राचार्य डा राजेन्द्र केसीले देशको न्यूनतम आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट ल्याउनुपर्ने बताए ।

साउथवेस्टन स्टेट कलेजका सहप्राचार्य हरिसिंह केसीले करको दर होइन दायरा बढाएर अगाडि बढेमात्र राजस्व बढ्ने र देशको आर्थिक विकासमा सहयोग पुग्ने बताए ।

प्रकाशित: २८ जेठ २०८१ ११:५६ | Monday, June 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast