महामन्त्रीको प्रतिवेदनबारे पार्टीले गम्भीर अध्ययन गरेर प्रतिक्रिया दिन्छ : रास्वपाका सांसद खनाल

हिमाल प्रेस १३ असार २०८१ १६:३० | Thursday, June 27, 2024
महामन्त्रीको प्रतिवेदनबारे पार्टीले गम्भीर अध्ययन गरेर प्रतिक्रिया दिन्छ : रास्वपाका सांसद खनाल शिशिर खनाल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले पार्टी सभापतिसमक्ष पेस गरेको समीक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताएका छन्। बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खनालले पार्टी कमजोर भयो कि भन्ने आवाज पार्टीभित्र उठेकाले नै महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाइएको बताए।

उनले महामन्त्रीलाई पार्टीको अवस्था पत्ता लगाउनका लागि नै यात्रामा पठाइएको उल्लेख गरे। उनले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरिने र निष्कर्ष निकालिने बताए।

‘स्वाभाविक रूपमा अहिले चारैतिर हामी कमजोर भयौँ कि भन्ने आवाजहरू हाम्रै पार्टी पंक्तिका साथीहरूले नभनेका कुरा चाहीँ होइनन्,’ उनले भने, ‘महामन्त्रीले जुन प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर पार्टीले नै उहाँलाई खटाएको हो।’

खनालले ढकाललाई पार्टीले नै जनतामाझ पठाएको पनि दाबी गरे। ‘उहाँ स्वेच्छाले भन्दा पनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि ? केही समस्या छ कि भनेर पत्ता लगाउन खटाएको हो,’ उनले थपे, ‘उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि स्वाभाविक रूपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौं। अध्ययनको आधारमा निष्कर्षहरू आइसकेपछाडि अनि थप प्रतिक्रिया राख्नु उचित हुन्छ होला।’

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि समीक्षा यात्रा सुरु गरी ३८ जिल्ला पुगेर गरेको समीक्षा प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाएका थिए।

प्रकाशित: १३ असार २०८१ १६:३० | Thursday, June 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast