मध्य-मर्स्याङ्दीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन

हिमाल प्रेस २८ जेठ २०८१ १२:४२ | Monday, June 10, 2024
मध्य-मर्स्याङ्दीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन

लमजुङ- यहाँको मध्य-मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्यूत उत्पादन गर्न थालेको छ। नदीमा पर्याप्त पानी भएसँगै बेंसीसहर नगरपालिका-१ दलालस्थित ७० मेगावाटको आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको हो। हिउँदयाममा मर्स्याङ्दी नदीमा पानी घट्दा उत्पादन पनि घटेको थियो। पुनः तीन दिन अघिदेखि ७० मेगावाट नै उत्पादन हुन थालेको विद्युत उत्पादन केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिए।

उनका अनुसार गत मङ्सिरदेखि विद्यूत उत्पादन घटेर फागुनमा २४ मेगावाट मात्र उत्पादन भएको थियो। चैत लागेपछि विस्तारै उत्पादन वृद्धि भइ ४०/४५ मेगावाट पुगेको थियो। एक हप्ता अघिदेखि ६० मेगावाट हुँदै हाल पूर्ण क्षमतामा उत्पादन भएको हो। यस जलविद्युत् आयोजनामा ३५/३५ मेगावाट क्षमताका दुई वटा टर्बाइन छन्। यो आयोजना सन् २००० मा निर्माण सुरु भई २००८ मा सम्पन्न भएको थियो।

रु २७ अर्ब २० करोडको लागतमा निर्मित आयोजना जिल्लाकै पहिलो विद्युत आयोजनासमेत हो। जिल्लाभित्रै उत्पादन थालेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २५, १२ दशमलव १ र पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनालेसमेत विद्युत उत्पादन गरिरहेका छन्।

जिल्लामा बर्सेनि मर्स्याङ्दी नदी, दोर्दी, किसेदी, मिदिम खोलालगायतका खोलामा पानीको बहाव कम हुँदा उत्पादन घट्ने र पानी पर्याप्त भएपछि पूर्ण क्षमतामा विद्युत उत्पादन हुने गरेको छ। रासस

प्रकाशित: २८ जेठ २०८१ १२:४२ | Monday, June 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast