प्राइम सहकारी ठगी प्रकरण : फरार रहेका तीनजना पक्राउ

हिमाल प्रेस ७ असार २०८१ १४:१६ | Friday, June 21, 2024
प्राइम सहकारी ठगी प्रकरण : फरार रहेका तीनजना पक्राउ

पोखरा- प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा संलग्न रही फरारमध्ये ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत मोदी १ स्थायी घर भई हाल पोखरा १८ बस्ने वर्ष ५५ की धनकुमारी गुरुङ, सोही ठाउँ घर भइ हाल पोखरा ८ बस्ने वर्ष ४७ की सीताकुमारी गुरुङ र पोखरा ३, तेर्सापट्टी बस्ने वर्ष ४७ का जीवन सार्की हुन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो। उनीहरूलाई उक्त कसूरबमोजिम सजायको लागि कास्की जिल्ला अदालत समक्ष पेस गरिएको जनाइएको छ।

६५ जना प्रतिवादी बनाइएको सो मुद्दामा ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबी छ। जिल्ला अदालतमा विचाराधीन मुद्दामा बिहीबारमात्र अदालतले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने तथा २ जना धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

न्यायाधीश रामचन्द्र शर्माको इजलासले मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। यस्तै, सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र उत्तम मगरलाई पनि थुना पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको हो। सो मुद्दामा अझै ५३ जना फरार छन्।

प्राइमको ठगी प्रकरणमा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, सहकारी कर्मचारी, लेखापरीक्षक, नेपाल सरकारका कर्मचारीसमेत मुछिएका छन्। गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालीन प्रमुख एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका प्रदेशसचिव बद्रीनाथ अधिकारी, सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदी समेत यो ठगी प्रकरणमा मुछिएका हुन्।

विज्ञको वित्तीय विश्लेषण र प्रहरीको अनुसन्धानबमोजिम १ अर्ब ५७ करोड १५ लाख हिनामिना भएको देखाइएपछि सरकारी वकिल कार्यालयले सोही रकम आधार मानेर मुद्दा दायर गरेको हो।
सहकारीमा बचत खाता कुल ३ हजार ५ सय ८५ वटा र १ हजार ८ सय ६२ बचतकर्ता छन्। सहकारीको ठूलो बचत रकम तथा सम्पत्ति हिनामिना गरी ठगी भएको खुलासा भएपछि प्रहरीपले उजुरी आह्वान गरेकोमा ९ सय ९२ जनाले उजुरी दिएका छन्।

२०६६ सालमा खुलेको यो सहकारीको कास्की, तनहुँ र गोरखा जिल्लामा कार्यक्षेत्र विस्तार थियो। हाल यसको प्रधानकार्यालय पोखरा ४, गैह्रापाटनमा कार्यालय छ।

प्राइम सहकारी ठगी प्रकरण : सात जना पुर्पक्षका लागि थुनामा, दुई जना धरौटीमा रिहा

पोखराको प्राइम सहकारी ठगी प्रकरण : आठ जना पक्राउ, १ अर्ब ५४ करोड रुपैयाँ अपचलन!

प्रकाशित: ७ असार २०८१ १४:१६ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast