प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उद्यमशीलतासँग जोड्दैछौँ : श्रममन्त्री अर्याल

हिमाल प्रेस ६ असार २०८१ १९:२५ | Thursday, June 20, 2024
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उद्यमशीलतासँग जोड्दैछौँ : श्रममन्त्री अर्याल फाइल तस्बिर।

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ ‘मोडालिटी’ ल्याउन गृहकार्य भइरहेको बताएका छन्।

‘यो कार्यक्रमबारे पुनःविचार गर्नुपर्छ भनेर काम भइरहेको छ। कम्तीमा यो कार्यक्रमले सीप विकास र उद्यमशीलतासँग जोड्न सक्नुपर्छ,’ राष्ट्रियसभाको संद्दीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा बोल्दै उनले श्रम स्वीकृतिमा बेथिति देखिएकाले एक घण्टामै श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताए।

‘वैदेशिक रोजगारीमा जाने सोझा नागरिक आफ्नो सम्पत्ति बेचेर गइरहेका हुन्छन्। उनीहरूलाई बिचौलियाले ठग्ने गरेको छ। ठग्ने प्रवृत्ति अन्त्य गर्न यो निर्णय गर्‍यौँ। ‘फ्रि भिसा फ्रि टिकट’ मा पनि ब्रह्मलुट छ। यसको नीतिमा पनि काम गरिरहेका छौँ,’ मन्त्री अर्यालले भने।

उनले आन्तरिक रोजगारी सिर्जना गर्ने काममा मन्त्रालय गम्भीर रहेको बताउँदै भने, ‘विदेश जानेलाई रोक्न सकिँदैन तर फर्किएकालाई मात्रै रोक्न सके त्यो ठूलो कुरा हुनेछ। फर्केकालाई व्यवस्थापन गर्न कार्यक्रम ल्याउँदैछौँ।’

मन्त्रालयका सचिव घनश्याम उपाध्यायले रोजगार बैंकको अवधारणामा मन्त्रालय अघि बढेको बताए। उनले भने, ‘हामीले गरेका काम प्रचार गर्न सकेका छैनौँ। श्रमाधान रोजगार मेला सातै प्रदेशमा सम्पन्न भएको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको स्थापना गरेका छौँ।’

बैठकमा श्रम तथा रोजगार, श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था नीति, कानुन, संरचनालगायतमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या, भावी, कार्ययोजनालगायतका विषयमा छलफल भएको थियो।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले नकारात्मकभन्दा सकारात्मक पाटोमा ध्यान दिनुपर्ने बताए।

प्रकाशित: ६ असार २०८१ १९:२५ | Thursday, June 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast