प्रतिनिधिसभाको विषयगत समितिमा सांसदहरू हेरफेर

हिमाल प्रेस १३ असार २०८१ १५:४० | Thursday, June 27, 2024
प्रतिनिधिसभाको विषयगत समितिमा सांसदहरू हेरफेर सभामुख देवराज घिमिरे।

काठमाडौँ-  प्रतिनिधिसभाको आजको बैठकले सङ्घीय संसद्अन्तर्गतका केही संयुक्त समिति र विषयगत समितिहरूमा हेरफेर गर्ने सहमति जनाएको छ। सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालको स्थानमा डा स्वर्णिम वाग्लेको नाम हेरफेर गर्न सभामुख देवराज घिमिरेले सभाको सहमतिका लागि प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सहमति जनाएको हो।

त्यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम विभिन्न विषयगत समितिमा सदस्यको नाम थप तथा हेरफेरका लागि पनि प्रतिनिधिसभाको आजको बैठकले सहमति जनाएको छ। प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसका सांसद डा प्रकाशशरण महतलाई अर्थसमिति र सांसद नारायणप्रकाश साउदलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पठाइएको छ।

कांग्रेसका सांसद सीता गुरुङ र नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङलाई कानुन, न्याय तथा मानवअधिकार समितिमा जिम्मेवारी दिइएको छ। त्यसैगरी, कांग्रेसका सांसदद्वय रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जिम्मेवारी दिइएको छ।

कांग्रेस सांसदहरू टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा, धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ। जनमत पार्टीका सांसद अनिता देवीलाई राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको छ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू हरि ढकाल र असिम शाहको विषयगत समितिको जिम्मेवारी हेरफेर भएको छ। ढकाललाई सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा र शाहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा पठाइउने प्रस्तावलाई प्रतिनिधिसभाले सहमति जनाएको हो।

त्यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा जनमत पार्टीका सांसद अब्दुल खांनको स्थानमा सांसद देवी मनोनित भएका हुन्।

प्रकाशित: १३ असार २०८१ १५:४० | Thursday, June 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast