पहिलो पटक राष्ट्रिय सहकारी रोजगारी मेला आयोजना हुँदै

हिमाल प्रेस ६ असार २०८१ ९:४७ | Thursday, June 20, 2024
पहिलो पटक राष्ट्रिय सहकारी रोजगारी मेला आयोजना हुँदै राष्ट्रिय सहकारी मेला आयोजना सम्बन्धमा जानकारी दिन बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल (बीचमा) लगायत। तस्बिर : हिमालप्रेस

काठमाडौँ– नेपालमा पहिलो पटक राष्ट्रिय सहकारी मेला आयोजना हुने भएको छ। राष्ट्रिय सहकारी महासंघको आयोजनामा असार ७, ८ र ९ गते तीन दिनसम्म ललितपुरस्थित पुल्चोकमा उक्त मेला आयोजना गर्न लागिएको हो। महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी राष्ट्रिय सहकारी मेलाका सम्बन्धमा जानकारी दिएको हो।

‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ नाराका साथ हुन लागेको मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ। मेलाको आयोजनाले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्ने, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने विश्वास महासंघको छ।

महासंघ अध्यक्ष ओमदेवी मल्लले मेलाले स्टार्टअप र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेका लागि नेटवर्किङको कार्य बताइन्। उनले भनिन्, ‘सहकारी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न संघ संस्थाले सञ्चालन गर्ने व्यावसायिक तालिमहरू, शैक्षिक कोर्सहरू र सीप विकास कार्यक्रमका विषयमा जानकारी गराउँदै मानव संसाधन विकासमा समेत मेलाले योगदान गर्नेछ।’ जसले देशभित्रै स्वरोजगारीका अवसरहरू सिर्जना गर्दै आएको सहकारी क्षेत्रका विषयमा युवालाई जानकारी गराउने र वैदेशिक रोजगारीको प्रवाह कम उद्यमशीलता विकास गर्न समेत टेवा पुग्ने महासंघले जनाएको छ।

मेलाले समयमै जागिर सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरी रोजगारीको अवसरको लाभ लिन सकिने मल्लले बताइन्। मेला अवधिभर सहकारीका ठूलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुति, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का विज्ञद्वारा करियर काउन्सिलिङका सत्रहरूसमेत सञ्चालन हुनेछन्।

मेलाको सहआयोजकका रुपमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ र नेपाल कृषि सहकारी केन्द्रीय संघ छन्।

मेला आयोजनाका लागि वैदेशिक रोजगार बोर्ड, बागमती प्रदेश वचत तथा ऋण सहकारी संघ, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापा, साहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड चारपाने झापा, मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दमक झापा र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सहयोग गरेका छन्।

विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान महासंघको छ। मेलामा निःशुल्क प्रवेश गर्न सकिनेछ।

प्रकाशित: ६ असार २०८१ ९:४७ | Thursday, June 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast