 
                             
                                            काठमाडौँ- नेपालकै चर्चित लोक रक समूह नेपथ्यले न्यूयोर्कको म्यानह्याटनस्थित टर्मिनल फाइभमा सांगितिक प्रस्तुति दिने भएको छ।
तीन हजार दर्शक अटाउने क्षमता भएको टर्मिनल फाइभमा नेपथ्यले आगामी अगष्ट ३० मा ऐतिहासिक साँझमा सांगीतिक प्रस्तुति दिने भएको हो। टर्मिनल फाइभ ठूलो सांगितिक कार्यक्रम हुने ठाउँ हो।
न्यूयोर्कमा याक प्रोडक्सन, डिजे रित र इसेन्स स्माइल्सले नेपथ्यको ऐतिहासिक साँझ कार्यक्रम गर्न लागेको हो। ‘नेपथ्य जस्तो लामो इतिहास भएको लोकप्रिय नेपाली ब्याण्डलाई न्यूयोर्कमा प्रस्तुत गर्न पाउँदा हामी एकदमै उत्साहित छौं,’ इसेन्स स्माइल्सकी सुलोचना गुरुङले भनिन्, ‘यो ऐतिहासिक सांगीतिक कार्यक्रमलाई सार्थक बनाउन यहाँहरु सबैको साथ सहयोगको अपेक्षा गरेका छौ।’

नेपथ्यले म्यानह्याटनको टर्मिनल फाइभमा कार्यक्रम गर्न लागेको याक प्रोडक्शनकी छोमो डसेलले बताइन्। ‘स्पिकिङ फ्यांक्ली, इट्स अ भेरी एक्पेन्सिभ प्रोजेक्ट, बट्, वि क्यान्नट डु इन अ स्मल भेन्यू,’ उनले भनिन्, ‘अगेन, दे आर नेपथ्य, वि रेस्पेक्ट द्याट।’
उनले ‘इन पर्सन’ टिकट ज्यादै कम भएको भन्दै नेपाली गीत संगीतका पारखी र नेपथ्यका फ्यानलाई अनलाइन टिकट किन्न अनुरोध गरिन्। ‘जति सस्तोमा बेच्न सकिन्छ अहिले त्यति सस्तोमा टिकट अनलाइन उपलब्ध छ,’ उनले भनिन्, ‘अहिले फस्र्ट फेजमा टिकट नकिने पछि फेज टुमा टिकटको मूल्य बढ्छ।’
अहिले टिकटको अनलाइन मूल्य करिब १ सय ५ डलर छ। त्यसमध्ये ८० डलर आयोजकले पाउने छन्।
‘नेपथ्य आफैमा ठूलो नाम हो,’ डिजे रितका ठिले थकालीले भने, ‘नेपथ्यले २०१६ मा एक पटक कन्सर्ट गर्नुभएको थियो। यति धेरै वर्षपछि आफैँले कन्सर्ट आयोजना गर्न पाउँदा गर्व लागिरहेको छ।’
कार्यक्रम आयोजनास्थलमा पार्किङ नपाउने सम्भावना छ। साथै, पे पार्किङ महँगो भएकाले सार्वजनिक सवारी साधन प्रयोग गर्नु उपयुक्त हुने आयोजक ठिले थकालीले जानकारी दिए।
टिकटका लागि आयोजकले बनाएको ब्रोसरमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। साथै, टर्मिनल फाइभको वेवसाइट वा गुगल गर्दा पनि टिकट खरीदको लिंक सजिलै भेटिन्छ।
टर्मिनल फाइभमा साँझ ठीक ९ बजे नेपथ्यले प्रस्तुति सुरु गर्ने आयोजकले बताएका छन्।
कार्यक्रमस्थलमा नेपाली खानाको स्टल समेत हुने छ । आयोजकले कार्यक्रममा मदिराजन्य पदार्थ राख्ने छैन।
तर टर्मिनल फाइभ व्यवस्थापनको बार भने खुला रहने छ। नेपथ्यले लोक संगितलाई रक शैलीमा गाएर नेपाली संगितलाई अन्तराष्ट्रियकरण गर्न ठूलो भूमिका खेलेको छ।
बन्दको समयमा शान्तिका लागि शिक्षा अभियान लिएर गाउँ गाउँमा पुगेको थियो।
कार्यक्रमलाई सफल बनाउनका लागि नेपाली गीत संगीतप्रमी तथा शुभेक्षुकहरुलाई कार्यक्रममा आएर सहयोग गरीदिन आयोजकले अनुरोध गरेको छ।
नेपाली दर्शक, श्रोतालाई गीत संगीतको माध्यमबाट मनोरन्जन दिनुका साथै नेपाली गीत संगीत र सर्जकको सम्मानको लागि नेपथ्यको ऐतिहासिक साँझ आयोजना गर्न लागिएको आयोजक छोमो डसेलको भनाइ छ।
नेपाली श्रोता र दर्शकबीच चर्चित ब्याण्ड नेपथ्यले नयाँ र सर्वकालिक हिट गीतहरु प्रस्तुत गर्ने छ। दर्शकको भावनालाई बुझेर स्टेजमा प्रस्तुती दिने साथै नाच्न र नचाउन माहिर समूह नेपथ्यले बेलायतको वेम्ली स्टेडियम लगायत विदेशका ६५ तथा स्वदेशमा ५० बढी स्थानमा कन्सर्ट गरिसकेको छ।
नेपथ्यको अमेरिकाको म्युजिकल टुर अगस्ट ३ बाट कोलोराडो बोल्डर थियटरबाट सुरु हुने छ। नेपथ्यले हालसम्म अगस्ट ६ र ७ मा पेन्सिलभेनियाको द फोरम अडिटोरियम, अगस्ट ९ र १० मा सान फ्रान्सिस्कोको द वारफिल्ड, अगस्ट १६ र १७ मा ओहायोको केम्बा लाइभ तथा अगस्ट २३ र २४ मा टेक्सासस्थित अर्भिङको टोयोटा म्युजिक फ्याक्ट्रीमा सांगितिक प्रस्तुति दिने तय भइसकेको छ।
त्यस्तै अगस्ट २३ मै बस्टनको रोयलमा पनि नेपथ्यको सांगीतिक कार्यक्रम राखिएको छ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 