टी-२० विश्वकप : अपराजित दक्षिण अफ्रिकाको सेमिफाइनल सम्भावना बलियो, इंग्ल्यान्ड पराजित

हिमाल प्रेस ८ असार २०८१ ६:४७ | Saturday, June 22, 2024
टी-२० विश्वकप : अपराजित दक्षिण अफ्रिकाको सेमिफाइनल सम्भावना बलियो, इंग्ल्यान्ड पराजित

काठमाडौँ- आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातारको जितले दक्षिण अफ्रिकाले सेमिफाइनल सम्भावना बलियो बनाएको छ।

शुक्रबार राति सम्पन्न रोमान्चक खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई सात रनले हराएको छ । नवौँ विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार छैटौँ जित हो ।

‘सुपर-८’ चरणमा भने दक्षिण अफ्रिकाको यो दोस्रो जित हो । दक्षिण अफ्रिकाले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । यसअघि दक्षिण अफ्रिकाले ‘सुपर-८’ चरणको आफ्नो पहिलो खेलमा आयोजक अमेरिकालाई १८ रनले हराएको थियो ।

‘सुपर-८’ चरणको ‘समूह-२’ मा दक्षिण अफ्रिका दुई खेलबाट चार अंक बटुल्दै पहिलो स्थानमा छ।

दुई खेलबाट दुई अंक जोडेको इङ्ल्यान्ड दोस्रो स्थानमा छ। साविक विजेता इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा दुईपटकको च्याम्पियन वेस्ट इन्डिजलाई आठ विकेटले हराएको थियो । एक-एक खेल खेलेका अमेरिका र वेस्ट इन्डिजले भने खाता खोल्न सकेका छैनन् ।

शनिबार रातिको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको इंग्ल्यान्डले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रनमात्र बनाउन सक्यो ।

सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डी काकले ६५ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान डी काकले केवल ३८ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काए ।

अर्का ओपनर रिजा हेन्ड्रिक्स भने १९ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी एक चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यानद्वय डी काक र हेन्ड्रिक्सले ८६ रनको साझेदारी गरेका थिए ।

चौथो नम्बरका ब्याट्सम्यान डेभिड मिल्लरले पनि टोलीको खातामा अविजित ४३ रन थपे । उनले केवल २८ बलमा दुई छक्का र चार चौका प्रहार गरे । इङ्ल्यान्डका बलर जोफ्रा आर्चरले तीन विकेट लिए । मोइन अली र अदिल रसिदले एक-एक विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले ५३ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । लियाम लिभिङ्स्टोनले पनि टोलीको खातामा ३३ रन थपेका थिए । दक्षिण अफ्रिकाका बलर कागिसो राबडा र केशव महाराजले दुई-दुई विकेट लिए ।

प्रकाशित: ८ असार २०८१ ६:४७ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast