 
                             
                                            काठमाडौँ- यही असार २८ देखि प्रदर्शन हुने फिल्म ‘घरज्वाइँ’को निर्माण टिमले प्रचारप्रसार थालेको छ। मगर समुदायको महान पर्व भूमे पूजाको अवसर पारेर फिल्मको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए।
नेपाल सरकारका माननिय अर्थमन्त्री वर्षमान पुनले असार १ गते टुँडिखेलमा भूमे पर्वको सुरुवात गरेका थिए। सोही कार्यक्रममा सहभागी हुन ‘घरज्वाइँ’ टिमका तर्फबाट अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशर वाङ्देल, भोलाराज सापकोटा लगायत टुँडिखेल पुगेका थिए।

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए।
आफू भोजपुरमा जन्मिएको राईको छोरो भएपनि फिल्ममा पूर्वी रुकुमको एक मगर युवाको जीवन बाँच्न पाएकोमा खुसी व्यक्त गर्दै उनले आफ्नो क्यारेक्टर सबैलाई मन पर्ने विश्वास व्यक्त गरेका थिए।
फिल्मकी मुख्य अभिनेत्री मिरुना मगरले आफु सानैमा विदेश गएकाले पनि मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न नपाएको र फिल्मले अवसर दिएको भन्दै निर्माता जनक घर्तीमगर र निर्देशक अनिल बुढामगरलाई धन्यवाद दिइन्। साथै उनले फिल्ममार्फत आफ्नो संस्कार र संस्कृतिलाई देश तथा विदेशमा चिनाउने अवसर पाएकोमा खुसी व्यक्त गरिन्।
उनी पूर्वकी मगर हुन्। परिवेशअनुसार संस्कार फरक हुने भएकोले पश्चिमको संस्कार र संस्कतिको बारेमा बुझ्ने इच्छा फिल्ममार्फत पूरा भएको बताइन्।
अर्थमन्त्री वर्षमान पुनले मुख्य कलाकार दयाहाङ र मिरुनालाई फिल्ममार्फत नेपाली समाजलाई जोड्ने अभिनय गर्दै जानु भन्दै शुभकामना दिए। उनले अन्य फिल्म जस्तै यसले पनि दर्शकको मन जित्ने विश्सास व्यक्त गरेका थिए।
यही असार २८ देखि प्रदर्शन हुने फिल्ममा अन्य कलाकार बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरलगायत कलाकारको अभिनय छ।
सुसन प्रजापतिले छायांकन गरेको फिल्म पूर्वी रुकुम आसपासमा छायांकन गरिएको छ। फिल्मका लेखक तथा निर्देशक अनिल बुढामगर हुन्। फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक मगरलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।
जिएम मूभीज र एबीएम फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा कृष्ण भन्डारीले सम्पादन, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 