 
                             
                                            काठमाडौँ- नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ प्रदर्शनको संघारमा छन। उनी फरकफरक समुदायको कथामा फिल्म बनाउने निर्देशकका रुपमा चिनिन्छन्। यसअघिको नुमाफुङ’ बाट उनले निकै प्रशंसा बटुलेका थिए। उक्त फिल्ममा उनले लिम्बू समुदायको कथा भनेका थिए।
त्यस्तै ‘खांग्री’ मार्फत हिमाली भेगमा बस्ने शेर्पा समुदायको कथा भनेका थिए। ‘गुडबाई काठमाडौँ’ मार्फत तीनवटा छुट्टाछुट्टै कथा भनेका थिए तर यो फिल्म भने प्रदर्शन गरिएको छैन्।
मौलिक कथा भनिरहेका सुब्बाले यसपटक पूर्वी पहाडको भोजपुर पुगेर राई समुदायको कथा गाउँ आएको बाटो’ लिएर आएक छन्। फिल्म यही जेठ २५ देखि देशभर प्रदर्शन हुँदैछ।
फिल्ममा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई)र उनीहरूको सातवर्षे छोरा बिन्द्रे (प्रसन राई)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथा प्रस्तुत गरिएको छ।
त्यस्तै ‘गाउँ आएको बाटो’ सडकले बाउछोराको सम्बन्धमा पार्ने प्रभावको पनि कथा भनेको निर्देशक नवीन बताउँछन्। ‘सडकले गाउँमा सपनाहरू लिएर आउँछ। सडकले सपना मात्रै होइन त्योसँगै दुःख पनि लिएर आउँछ भन्ने हामीले देखाएका छौँ,’ उनी भन्छन्, ‘त्योसँगै बुबाले गर्ने संघर्षको कथा पनि फिल्ममा भनेका छाैँ। सडकले छोराका सपनाहरू बढाइदिने र त्यो सपना प्राप्त गर्न बा ले गर्ने संघर्षको कथा छ।’
दुई दर्जन जति अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको फिल्म नेपाली दर्शकले पनि रुचाउँछन् भन्नेमा उनी ढुक्क छन्। यो पटक धेरै अपेक्षा नगरी फिल्म बनाएको उनको तर्क छ। ‘गाउँ आएको बाटो’ले फेस्टिभलमा गएका फिल्म र घरेलु बजारका लागि मात्रै बनेका फिल्मका दर्शकलाई जोड्ने नवीन बताउँछन्। आफू नेपाली फिल्मको घरेलु बजारलाई ठूलो आकार दिन प्रयासरत रहेको उनको भनाइ छ।
‘मैले यो पटक फेस्टिभलमा जाने फिल्म मन पराउने दर्शक र घरेलु दर्शकलाई लक्षित गरेर फिल्म बनाएको छु,’ उनी भन्छन्, ‘फिल्म आफ्ना विषय पनि उठान गर्ने र दर्शकलाई मनोरञ्जन दिने किसिमको बनेको छ।’
सिने जगतको विस्तार र विस्तारका लागि सबै खालका फिल्म चल्नुपर्ने उनी बताउँछन्। ‘सबै फिल्म चलेर घरेलु बजार नै विस्तार भएपछि देश बाहिर पनि नेपाली फिल्म उद्योगको बजार विस्तार हुन्छ।’ उनले भने। दर्शकलाई मनोरञ्जन प्रधान र विषय प्रधान दुवै फिल्म हेर्ने तयार पार्न सके नेपालभित्रै ठूलो बजार बन्ने उनको भनाई छ। उनी यि दुवै दर्शकलाई लक्षित गरेर फिल्म बनाउनु पर्नेमा जोड दिन्छन्।
टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’ को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन्। मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा बनेको फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 