 
                             
                                            काठमाडौँ- फिल्म ‘गाउँ आएको बाटो’ आम नेपालीको भोगाईको कथामा बनेको अभिनेता दयाहाङ राईले बताएका छन्। त्यसैले उनी यो फिल्म घरेलु बक्स अफिसमा धेरै दर्शकले मन पराउनेमा विश्वस्त पनि छन्। ‘यो आम नेपालीले देखेको र भोगेको कथा हो। फिल्म विदेशी महोत्सवमा पनि गयो। विश्वभरका दर्शकले रुचाए पनि। त्यसैले यहाँ पनि दर्शकले रुचाउनुहुन्छ भन्ने लाग्छ।’
विदेशमा भने विभिन्न लेयरमा मन पराइएको उनले खुलाए। ‘यो फिल्म विदेशमा विभिन्न लेयरमा कथा भएकाले रुचाइयो। जस्तै एउटा लेयरमा बाउ र छोरोको कथा छ। अर्को लेयरमा गाउँमा सडक पुगेपछिको त्यसको असरको कथा छ।’
फिल्मले सडक पुगेपछि गाउँमा आएको सकारात्मक र नकारात्मक दुवै परिवर्तनलाई देखाउने उनकाे बुझाइ छ। ‘यो फिल्मले गाउँमा सडक पुगेपछिको कथा र त्यसले ल्याउने सकारात्मक र नकारात्मक परिवर्तन देखाउनेछ।’ उनले भने, ‘गाउँमा गाडीसँगै धेरै कुरा आएको र धेरै कुरा लगेको पनि छ। हरेक काममा सकारात्मक सहित नकारात्मक पक्षपनि हुन्छ।’
त्यो सँगै ‘गाउँ आएको बाटो’ बाउछोराको सम्बन्धमा पार्ने प्रभावको कथा पनि रहेको उनी बताउँछन्। ‘सडकले गाउँमा सपनाहरू लिएर आउँछन्। त्योसँगै दुःख पनि लिएर आउँछ। त्यो दुःख टार्न बाउले गर्ने संघर्षको कथा पनि फिल्ममा छ।’
फिल्म ‘गाउँ आएको बाटो’ यही जेठ २५ देखि नेपाली हलहरुमा प्रदर्शन हुँदैछ। फिल्ममा तीन मुख्य पात्र छन् अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राई। उनीहरु हिमाली क्षेत्रमा चोयाबाट विभिन्न सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका निम्नवर्गीय राई परिवारको भूमिकामा छन्।
अभिनेता दयाहाङ ‘राई माइला’को भूमिकामा छन्। उनको क्यारेक्टरले गाउँमा डोका, डाला, मान्द्रा, चित्रा, नाङ्ला बुनेर बस्ने परिवारको प्रतिनिधित्व गरेकाे छ। उनकी पत्नि बनेकी छन् पशुपति राई भने प्रसन राई उनको छोरा हुन्।
यो फिल्म राई समुदायको संस्कार, संस्कृति, परिवेश र पेसामा आधारित छ। पछिल्लो समय सिने जगतका व्यस्त अभिनेता राईले आफ्नै कथामा भने पहिलोपटक काम गरेका छन्। आफ्नै समुदायको कथा भएकोले आफ्नो लागि फिल्म विशेष भएको अभिनेता राई बताउँछन्। फिल्मको सार्वजनिक गीत, टिजर र ट्रेलरको आधारमा पनि उनको मेहनत प्रष्ट गरेको देखिन्छ। उनको भूमिका र अभिनयलार्ई दर्शकले पनि मन पराएका छन्।
गाउँमा बाटो आएसँगै परम्परागत पेसा संकटमा पर्छ। बारी जोत्नको लागि गोरुको ठाउँमा हाते ट्याक्टर प्रयोग हुने, परम्परागत नाङ्लो, मान्द्रो, चित्रा, पाल लगायत बुनेर गुजारा गर्नेहरुको पेशा संकटमा परेको फिल्मको टिजरमार्फत देखाइएको छ। यही कथा निर्देशक नवीन सुब्बाले पात्रमार्फत फिल्म ‘गाउँ आएको बाटो’ मा देखाएका छन्।
टोरोन्टो र बुसान सिनेमा महोत्सवमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’ मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनेको छ। फिल्मका निर्माता निर्माता अमोद राई र निर्देशक नवीन सुब्बा हुन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 