 
                             
                                            काठमाडौँ- २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित हुन कम्तीमा तीन साता लाग्ने भएको छ। परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्पन्न गरी ‘मार्क इन्ट्री’ गर्ने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। उनले भने, ‘उत्तरपुस्तिका परीक्षण गर्ने काम लगभग सकिएको छ। मार्क इन्ट्री गर्ने काम सुरु भएको छ। नतिजा आउन कम्तीमा तीन साता लाग्ला।’
२०८० चैतमा भएको परीक्षामा नियमिततर्फ ४ लाख ६७ हजार ४५ परीक्षार्थी सहभागी थिए। ग्रेडवृद्धितर्फ भने २१ हजार विद्यार्थी सहभागी थिए।
एसईईको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणका लागि देशका विभिन्न ठाउँमा गरी ५२ वटा केन्द निर्धारण गरिएको थियो।
यस वर्ष नयाँ पाठ्यक्रमअनुसार एसईई परीक्षा भएको थियो। विगतमा १०० पूर्णांकका लागि तीन घण्टा र ७५ पूर्णांकका लागि २ घण्टा १५ मिनेट समय तोकिन्थ्यो। नयाँ पाठ्यक्रमअनुसार परीक्षार्थीले ७५ पूर्णांकका लागि पनि तीन घण्टा समय पाएका थिए। साथै सबै विषयमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ। हरेक विषयमा प्रयोगात्मक २५ प्रतिशत र लिखितमा ७५ प्रतिशत कायम गरिएको कार्यालयले जनाएको छ। ग्रेडवृद्धिको परीक्षा भने पुरानो पाठ्यक्रमअनुसार भएको थियो।
लिखित परीक्षामा ३५ प्रतिशत अंक नआएमा त्यसलाई ग्रेडिङमा गणना नगरिने व्यवस्था गरिएको छ। प्रयोगात्मक र लिखितमा क्रमशः ३५ प्रतिशत र ४० प्रतिशत अंक ल्याउनुपर्नेछ। लिखित र प्रयोगात्मकको गरी ३५ प्रतिशत अंक आएन भने ग्रेडिङमा गणना गरिने छैन।
ग्रेडमा पर्नका लागि ७५ पूर्णांकको परीक्षामा २७ प्रतिशत अंक र २५ पूर्णांकको प्रयोगात्मक परीक्षामा कम्तीमा १० प्रतिशत अंक ल्याउनैपर्छ।
ग्रेडिङमा संशोधन
नयाँ पाठ्यक्रमअनुसार एसईई भएकाले अक्षरांकन पद्धतिमा केही संशोधन गरिएको बोर्डले जनाएको छ। यस्तो प्रणाली यसअघि कक्षा १२ मा विगत दुई वर्षदेखि लागू भइसकेको छ। यसपटकदेखि कक्षा १० मा लागू गरिएको हो।
नयाँ प्रणालीअनुसार ग्रेडिङमा पर्नका लागि जुनसुकै विषयमा पनि न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ। यो प्रणाली विगतको ग्रेडिङ प्रणालीभन्दा फरक भएकाले न्यूनतम ३५ प्रतिशत नल्याएसम्म कुनै विषयमा ग्रेडेड हुँदैन। त्यसैले ग्रेडिङमा पर्न ३५ प्रतिशत ल्याउनैपर्ने प्रावधान राखिएको छ।
यसअघि एसईईमा नौवटा ग्रेड (A+, A, B+, B, C+, C, D+, D र E) थिए। त्यति बेला २० भन्दा कम अंक ल्याएमा E ग्रेड आउँथ्यो भने अर्थात् ग्रेडिङ प्रणालीमा न्यूनतम यति प्रतिशत चाहिन्छ भन्ने थिएन। संशोधित प्रणालीअनुसार सातवटा ग्रेड (A+, A, B+, B, C+, C र D) छन्।
D भनेको न्यूनतम ग्रेड हो। त्यो आउनका लागि ३५ प्रतिशत ल्याउनैपर्छ। D भन्दा तल ग्रेड राखिएको छैन। बोर्डका अनुसार D भनेको ३५ र सोभन्दा माथि ४० भन्दा कम हो। ३५ भन्दा कम आएमा ननग्रेडमा पर्ने व्यवस्था गरिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![शिक्षक दलकर्मीबाट पेसाकर्मी नबनेसम्म विद्यालय शिक्षामा सुधार हुँदैन : विद्यानाथ कोइराला [भिडियाे अन्तर्वार्ता]](https://himalpress.com/wp-content/uploads/2024/07/Bidhyanath-koirala-final-tham.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 