आज अन्तर्राष्ट्रिय योग दिवस : एसओएस बालग्राममा विशेष कार्यक्रम, प्रधानमन्त्री प्रचण्ड उपस्थित हुँदै

हिमाल प्रेस ७ असार २०८१ ७:१६ | Friday, June 21, 2024
आज अन्तर्राष्ट्रिय योग दिवस : एसओएस बालग्राममा विशेष कार्यक्रम, प्रधानमन्त्री प्रचण्ड उपस्थित हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर

काठमाडौँ- आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ। समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्दैछ।

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन्।

मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने उक्त मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए।

मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका लागि योग’ चयन गरेको थियो। सोही बैठकले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो। महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो।

प्रकाशित: ७ असार २०८१ ७:१६ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast