सुमना श्रेष्ठमाथि ओलीको टिप्पणी  : नेपाल घुम्न आएकी मन्त्री पो भइन्

हिमाल प्रेस १८ जेठ २०८१ १३:२३
276
SHARES
सुमना श्रेष्ठमाथि ओलीको टिप्पणी  : नेपाल घुम्न आएकी मन्त्री पो भइन्

काठमाडौँ- सत्ताको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ विदेशीसँग बिहे गरेर नेपाल आउँदा मन्त्री बनेको बताएका छन्।

गत साता झापामा विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको कुराकानीमा ओलीले उक्त कुरा बताएका हुन्। विद्यालय व्यवस्थापन समितिको अनुमतिबिना शिक्षक सरुवा गर्ने निर्देशिका जारी हुनुअघि व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मुक्तानलगायत प्रतिनिधिहरुले त्यसलाई सच्याउन माग गर्दै ओलीसँग भेट गरेका थिए।

छलफलमा अध्यक्ष ओलीले शिक्षामन्त्रीको कतिपय अपरिपक्व निर्णय सच्याउन सुझाव दिने र यो सरकारको पालामा अभिभावक र समुदायलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने गरी शिक्षक सरुवा मापदण्ड जारी भइसकेको छ। ओलीले भनेका छन्, ‘विदेशीसँग बिहे गरेको सुन्छु कता हो, नेपाल घुम्न आएकी मन्त्री पो भइन्।’

ओलीले दिएको उक्त अभिव्यक्तिसहितको भिडियो सामाजिक सञ्जालमा चर्चामा छ। मन्त्री श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक सांसद हुन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व गरेको सत्ता गठबन्धनमा एमाले सबैभन्दा ठूलो दल हो।

प्रकाशित: १८ जेठ २०८१ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 6 =