सगरमाथा आरोहणको क्रममा ज्यान गुमाएका बस्ताकोटीको अन्तिम बिदाइ

हिमाल प्रेस १८ जेठ २०८१ १२:४७
176
SHARES
सगरमाथा आरोहणको क्रममा ज्यान गुमाएका बस्ताकोटीको अन्तिम बिदाइ

पोखरा- सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका पोखराका पर्यटन व्यवसायी विनोदबाबु बस्ताकोटीको भावपूर्ण बिदाइ गरिएको छ। पोखरा २६, खराने फाँटका ३७ वर्षीय बस्ताकोटीले गत ९ जेठमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि फर्किने क्रममा निधन भएको हो।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव शुक्रबार बिहान पोखरा सभागृहमा राखिएको थियो।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका मन्त्रीहरु, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखराका विभिन्न वडाका वडाध्यक्ष, सदस्यहरु, आफन्त, शुभचिन्तक लगायतले राष्ट्रिय झण्डा, पोखरा महानगरपालिकाको झण्डा तथा पुष्प अर्पण गरी अन्तिम श्रद्धाञ्जली दिए।पोखराका मुख्यमुख्य चोकमा शवयात्रापछि शुक्रबार नै सेती नदी किनार मरेखरे घाटको अन्त्येष्टि गरिएको छ।

सगरमाथाको चौंथो शिविर (करिब ८२५० मिटर) आइपुग्दा उनी अचानक बिरामी भई ज्यान गुमाएका हुन्।उनको शव २ दिनपछि ११ जेठमा उद्दार गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो।शुक्रबार बिहान पोखरा ल्याइएको शव अन्तिम श्रद्धाञ्जलीका लागि न्यूरोडस्थित पोखरा सभागृहमा करिब १ घण्टा राखिएको थियो।

उनले घरका सदस्यलाई समेत सरप्राइज दिने भनी आफू सगरमाथा आरोहणबारे बताइसकेका थिएनन्।एक्कासि मृत्युको खबरले घरपरिवार समेत शोकमा छ।उनका श्रीमती र १ छोरा छन्।उनी बाबुआमाका ३ छोरामध्ये कान्छा हुन्।

करिब डेढ दशकदेखि पर्यटन व्यवसायमा क्रियाशील बस्ताकोटी अंग्रेजी, चिनियाँ र स्पेनिस भाषामा दख्खल थिए। गत वर्ष उनले लोबुचे हिमालको सफल आरोहण गरेका थिए।यसपालि उनी सगरमाथा आरोहणका लागि गत वैशाख २१ मा पर्यटन विभागबाट आरोहणका लागि अनुमति लिई पायोनियर एभरेस्ट एक्सिडिसन २०२४ नामक आरोहणदलमार्फत आरोहण गरेका थिए। सगरमाथाको शिखर आरोहण गरेकाले पोखरा वडा २६ ले उनलाई ‘वडा रत्न’ घोषणा गरेको वडाध्यक्ष नरेन्द्र थापाले बताए।

प्रकाशित: १८ जेठ २०८१ १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =