‘होमवर्क’ नगरेको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट

हिमाल प्रेस १७ जेठ २०८१ १८:०२
236
SHARES
‘होमवर्क’ नगरेको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट

इटहरी- इटहरीमा विद्यार्थीले ‘होमवर्क’ नगरेको भन्दै एक शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन्। इटहरी १६ मा रहेको शिक्षादीप बोर्डिङ स्कुलमा ९ कक्षामा अध्ययनरत अंशल बुढाथोकीमाथि ‘होमवर्क’ नगरेको भन्दै शिक्षक पूर्णप्रसाद पोखरेल (पीपी) ले बुधबार निर्घात कुटपिट गरेका हुन्।

१४ वर्षीय बुढाथोकीलाई पोखरेलले शरीरका विभिन्न भागमा पाइपले कुटपिट गरेको पीडित परिवारले बताएका छन्। पीडित बालकका ठूलोबुवा राजन बुढाथोकीका अनुसार गणित विषयको ६ वटा प्रश्न दिएर होमवर्क गर्न लगाएको र पाँचवटा मात्रै गरेको भन्दै शिक्षकले कुटपिट गरेका हुन्।

‘एउटा प्रश्नको उत्तर आएन सर भन्दा सख्त घाइते हुनेगरी बेहोस नै हुने अवस्थासम्म कुटपिट भयो,’ उनले भने, ‘मेरो अझै रिस मरेको छैन भन्दै शिक्षकले कुटपिट गरेछन्।’ उनका अनुसार विद्यार्थीले घरमा अभिभावकलाई भनेमा झन् कुट्ने भन्दै धम्कीसमेत दिएका थिए।

घाइते विद्यार्थीको हाल विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको बुढाथोकीले बताए। ‘त्यति धेरै कुटपिट हुँदा पनि हामीलाई विद्यालयले थाहै दिएन। अरु शिक्षकहरूबाट पनि खबर र समन्वय भएन,’ उनले भने, ‘अभिभावकलाई भनिस् भने झन् कुट्छु भन्दै धम्की दिएका कारण बेलुका बच्चाले केही भनेको थिएन, अरु नै अभिभावकमार्फत थाहा पायौँ। र, राति नै विराटनगरमा उपचारका लागि ल्याइएको छ।’

उक्त कुटपिटको घटनाले विद्यार्थीको मानसिकतामै गम्भीर चोट पुगेको उनले बताए। कुटपिटपछि साँझ गाडीमा हालेर पठाएको र आफूहरूले तेस्रो व्यक्तिबाट थाहा पाएको उनको भनाइ छ।

यता, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले प्रहरीमा किटानी जाहेरी आएका कारण शिक्षकलाई पक्राउ गरिएको बताए। ‘शिक्षकले कुटपिट गरेको र शरीरमा पनि निलडाम देखिएको छ। जाहेरी परिसकेपछि हामीले पक्राउ गरेका हौँ,’ डीएसपी कार्कीले भने, ‘आजै सुनसरी जिल्लामा म्याद थपका लागि लगिएको छ। म्याद थप गरेपछि थप अनुसन्धान गर्नेछौँ।’ उनले अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने जनाए।

यसबारे विद्यालयका प्रिन्सिपल सहदेव काफ्लेले भने घटनामा संलग्न शिक्षकलाई निलम्बन गरिएको बताए। उनले भने, ‘हामीले आज सञ्चालक समितिको बैठक बसेर घटनामा संलग्न शिक्षकलाई निलम्बन गर्ने निर्णय ग¥यौँ। हामीलाई पनि हिजो राति मात्रै जानकारी भयो।’

उनले आफूहरूलाई पनि घटनाबारे राति मात्रै थाहा भएको र बिहान बैठक बसेर निलम्बन गरिएको बताए। विद्यार्थीमाथि कुटपिट गर्नु गलत भएको उनको भनाइ छ।

प्रकाशित: १७ जेठ २०८१ १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =