श्रमाधान मेला : जागिर खोज्ने र रोजगारदाता एकै ठाउँमा

विवेक विवश रेग्मी १७ जेठ २०८१ १८:२८
182
SHARES
श्रमाधान मेला : जागिर खोज्ने र रोजगारदाता एकै ठाउँमा

इटहरी– विराटनगर महानगरापालिका–१२ की कविताकुमारी चौधरीले हालसम्म कहीँ पनि जागिर खाएकी छैनन्। उनी गृहिणी हुन्। सरकारले बुधबार विराटनगरमा सुरु गरेको श्रमाधान मेलामा आएकी उनी सहज हुने काम पाए गर्ने सोचमा छिन्।

कोशी प्रदेशबाट सुरु भएको श्रमाधान मेला सातै प्रदेशमा आयोजना गर्ने सरकारको लक्ष्य छ। सोहीअनुरूप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार विराटनगरस्थित सिटी प्यालेसमा मेला उद्घाटन गरे।

चौधरी भन्छिन्, ‘यो मेलाले म पनि रोजगारी गर्न इच्छुक भएँ। यहाँबाटै रोजगारीमा जोडिन सकेँ भने निकै सहज हुने थियो।’ अनुकूल काम भेटिएमा उनी घरको कामसँगै रोजगारी पनि गर्ने योजनामा छिन्। ‘घरमा बसिरहनुभन्दा केही रोजगारी गर्न सकिए थोरै भए पनि कमाइ हुन्थ्यो कि भन्ने लागेर जागिरका लागि आवेदन दिएकी छु,’ के काम गर्न इच्छुक हुनुहुन्छ भन्ने जिज्ञासामा उनको जवाफ छ, ‘अहिलेसम्म केही काम गरेकी छैन। मैले सक्ने जे काम भए पनि गर्न तयार छु।’

विराटनगर–५ का घनेन्द्र कटवाल अब विदेश नजाने पक्षमा छन्। यसअघि वैदेशिक रोजगारी (साउदी अरब) बाट आएका उनी रोजगारी पाइएमा विदेश नजाने बताउँछन्। ‘विदेशमा सिकेको सीप यहाँ गर्न पाइए विदेश नजाने सोच छ,’ उनले भने, ‘विदेशमा सिकेको सीप अनुकूलको काम पाए मलाई सहज हुन्छ र त्यहीअनुसार श्रम गर्न सक्छु।’

उनले आफू केही समयअघि विदेशबाट फर्किएका कारण त्यहाँ सिकेको सीप ड्राइभिङ र अन्य काम गर्न तयार रहेको बताए। मेलाबाट आफूले रोजगार पाउने उनको विश्वास छ।

धरानबाट आएकी शान्ति लिम्बूले आफूले योग्यताअनुसारको आवेदन दिएको र जागिर पाउने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘अहिलेसम्म बेरोजगार बसिएको छ। काम पाइए सहज हुन्थ्यो कि भनेर यहाँ आएर आवेदन दिएकी हुँ।’ मेलामा मानिसको चहलपहल देख्दा बेरोजगार युवाको संख्या धेरै रहेको प्रस्ट हुन्छ।

यी तीनजना जस्तै अन्य धेरै युवा आफू अनुकूल कामको खोजीमा मेलामा पुगेका छन्। प्रदेशका विभिन्न पालिकाबाट काम खोज्न आउने युवाको चाप मेलास्थलमा देखिन्थ्यो।
कोशी प्रदेशमा मात्रै नभई देशभर नै बेरोजगारीको संख्या बढ्दो छ। रोजगारी पाउने अवस्था न्यून रहँदा सरकारले आयोजना गरेको रोजगार मेलाबाट केही हदसम्म समसया समाधान हुने जानकारहरू बताउँछन्।

झापाको गौरीगन्ज गाउँपालिकाकी रोजगार संयोजक बेगम राई भन्छिन्, ‘हामीले विपन्नलाई रोजगारीको अवसर दिँदै आएका छौँ। धेरैजसो आंशिक रूपमा काम गर्ने श्रमिकहरू हुनुहुन्छ।’ उनका अनुसार श्रमिकहरूले दैनिक ज्यालादारीमा ६ सय ६८ रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन्।

सुनसरीको रामधुनी नगरपालिकाका रोजगार संयोजक खगेन्द्र सुब्बाले १० महिने तालिम सञ्चालनबाट धेरैजसो कामदारले काम पाइरहेको सुनाए। ‘वैदेशिक रोजगारीबाट आएकाहरू र अंगभंगमा परेका, अपांगहरूलाई रोजगारी प्रदान गर्दै आएका छौँ,’ उनले भने, ‘ठ्याक्कै यही काम गर्छु भनेर भन्न सक्ने अवस्था नभए पनि काम जे पाए पनि गर्छु भन्नेहरू धेरै आउनुहुन्छ।’ उनले वैदेशिक रोजगारीबाट आएकाहरूलाई त्यहाँ सिकेको सीप लागू गर्न पनि काम गरिरहेको बताए।

झापा अर्जुनधारा गाउँपालिकाकी रोजगार संयोजक प्रतिज्ञा थापा मगरले भने सरकारले विकास गरेको पोर्टलमार्फत धेरैजनाले रोजगारका लागि आवेदन दिने गरेको बताइन्। उनले भनिन्, ‘पोर्टलको पहुँचमा थोरै मान्छे भए पनि शिक्षित र दक्ष मान्छेहरूले त्यहाँबाट आवेदन दिने गर्नुभएको छ।’

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उक्त मेलाले रोजगारदाता र श्रमिकबीच पुलको काम गर्ने बताए। ‘मेलाले श्रम गर्ने र रोजगारदातालाई पनि आगामी दिनका लागि अवसर प्राप्त गर्छ,’ उनले भने, ‘हामीले यसअघि महासंघको उद्योग प्रतिष्ठानभित्रै ६ सय बढीलाई तालिम दिएर रोजगारी दिइसकेका छौँ।’

मेलामा ५० वटा स्टल राखिएको छ। जहाँ श्रमिकहरूले कामका लागि आवेदन दिन र कामबारे बुझ्न सक्नेछन्। रोजगारदाताले पनि स्टलमा आएर आफूले खोजेजस्तो कामदारको माग गर्न सक्ने उनले बताए।

श्रम तथा रोजगार मन्त्रालयले तयार गरेको पोर्टलमार्फत रोजगारदाताले यो श्रेणीको मान्छे चाहिने भनेर माग गर्ने र श्रमिकले पनि सोहीअनुसार आफूले चाहेको जागिरबारे बुझ्ने गरेका छन्। राउतले भने, ‘नेपाल सरकारले दिएको न्यूनतम तलबबराबरको कामको सिर्जना गर्न महासंघले पनि काम गरिरहेको छ। मेलाले पनि धेरै हदसम्म पुलको काम गर्ने विश्वास छ।’

श्रम तथा रोजगारमन्त्री डीपी अर्यालले स्वदेशमै रोजगारीको सिर्जना गर्नका लागि मेला आयोजना गरिएको बताए। ‘स्वदेशमै रोजगारदाता र रोजगारी पाउने अवस्था होस् भन्ने सरकारको लक्ष्य छ,’ उनले हिमाल प्रेससँगको कुराकानीमा भने, ‘तालिम दिने संस्था र बजारको मागअनुसार सीप सिकाउने कम्पनीबीच पनि समन्वय होस् भन्ने हाम्रो लक्ष्य छ। आममानिसलाई स्वरोजगार बनाउने र स्वदेशमै कस्ता रोजगारी छन् भन्ने बुझाउन मेला आयोजना गरिएको हो।’

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले संयोजन गरेको उक्त मेला शुक्रबारसम्म चल्नेछ। कोशी प्रदेशबाट सुरु भएको मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ। हरेक प्रदेशमा दुई दिन मेला सञ्चालन हुनेछ।

कोशी प्रदेशका विराटनगर र इटहरी करिडोरमा उद्योग कलकारखाना प्रशस्त छन्। ती उद्योगमा आवश्यक परेको कामदार पनि मेलाबाट छनोट गर्न सकिने र उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राउत बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =