काठमाडौँ- स्ववियु परिषद्को जिम्मेवारी हस्तान्तरणप्रति स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालका अध्यक्ष निराजन नेपालले आपत्ति जनाएका छन्। परिषद्को केन्द्रीय अधिवेशन आउन १० दिनमात्र बाँकी हुँदा स्वेच्छाचारी ढंगबाट निर्णय गरी जिम्मेवारी हस्तान्तरण गरिएको भन्दै उनले आपत्ति जनाएका हुन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेस केन्द्रीय कार्यालय र नेपाल विद्यार्थी संघलाई बोधार्थ दिँदै संगठनभित्र भएका यस्ता अमर्यादित/अवैधानिक गतिविधिले पार्टीमै प्रश्नचिह्न खडा हुने अवस्था रहेको बताए।
उनले आमविद्यार्थी, नेता, कार्यकर्तामा निराशाजनक भ्रमको सन्देश प्रवाह हुने भएकाले यस्ता अवैधानिक गतिविधिलाई अविलम्ब सच्चाउन माग पनि गरेका छन्। गत वैशाख २६ गते नै आगामी जेठ २६ गते परिषद्को केन्द्रीय अधिवेशनको मिति तोकिसकेको र सोही निर्णयबमोजिम आवश्यक सम्पूर्ण तयारी भइरहेको अवस्थामा संगठनको नाममा व्यक्तिगत र स्वेच्छाकारी ढंगले कोही कसैलाई पदको दुरुपयोग गरी, स्ववियु परिषद् नेपालको चिठ्ठी वा जिम्मेवारी हस्तान्तरण गरिएको कार्यप्रति स्ववियु परिषद्ले भत्सर्ना गरेको छ।
‘संगठनभित्र भएका यस्ता अमर्यादित/अवैधानिक गतिविधिले पार्टीमा नै प्रश्नचिन्ह खडा हुने अवस्था रहेको र आमविद्यार्थी, नेता, कार्यकर्ताहरुमा निराशाजनक भ्रमको सन्देश प्रवाह हुने भएकाले यस्ता अवैधानिक गतिविधिहरुलाई अविलम्ब सच्चाई संगठनको हकहितमा लागि पर्न सम्पूर्ण नेतृत्वगणलाई अनुरोध गर्दै हरेक तह र तप्काको नेतृत्व चयन प्रक्रिया अधिवेशनबाट मात्रै सम्भव र न्यायोचित हुने भएकाले परिषदको केन्द्रीय नेतृत्व पनि अधिवेशनबाट मात्र आउन सम्भव रहेकाले वैशाख २५ गतेको पत्राचार र निर्णयअनुसार नै केन्द्रीय अधिवेशन हुने व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ। साथै, अधिवेशनका लागि सम्पूर्ण स्ववियु। सभापति, पदाधिकारी एवं सदस्यज्यू र नेविसंघ केन्द्रीय कार्यसमितिका नेतागणहरुलाई साथ सहयोगको लागि अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकी नेपाल विद्यार्थी संघको स्ववियु परिषदमा मनोनीत भएपछि स्ववियु परिषद्ले आपत्ति जनाएको हो। संघका अध्यक्ष दुजाङ शेर्पाले संघको विधान र नियमावलीबमोजिम बुढाथोकीलाई रिक्त रहेको स्ववियु परिषद् सभापतिमा मनोनयन गरिएको जनाइएको छ।