नेपाली नियोग र दूतावासमा गणतन्त्र दिवस मनाइयो

हिमाल प्रेस १६ जेठ २०८१ १८:४२
14
SHARES
नेपाली नियोग र दूतावासमा गणतन्त्र दिवस मनाइयो

काठमाडौँ– मुलुक भित्र र विदेशस्थित नेपाली नियोग तथा दूतावासमा १७औँ गणतन्त्र दिवस मनाउने कार्य भइरहेको छ। जेठ १५ गते मुलुकभित्र गणतन्त्र दिवस भव्य रुपमा मनाइएको भए पनि विदेशस्थित नियोगले भने जेठ १६ र १७ मा पनि मनाउने छन्। नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राजधानीमा १५ गते सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम भएको थियो।

तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाए भने विदेशस्थित नियोगमा पनि गणतन्त्र दिवस मनाउने काम भइरहेको छ। गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाने गरेको छ। यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको थियो।

त्यही अनुरुप सबैले कार्यक्रमहरू गरेर दिवस मनाएका छन्। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गरेपछि मुलुक गणतन्त्रमा गएको थियो।

२०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना भएको थियो भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्‌बाट गणतन्त्र स्थापनाको घोषणा गरेकाले पनि त्यसै दिनलाई गणतन्त्र दिवसको रुपमा बनाउने गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेर नै यो काम अघि बढेको थियो। अमेरिकाको डिसीस्थित नेपाली नियोग, पाकिस्तानस्थित नेपाली दूतावास, अबुधावीस्थित नेपाली दूतावास, नयाँ दिल्ली, बेइजिङ, लण्डन, अबुधावी, जेनेभा, पेरिस, ब्रासिलियालगायत नेपाली दूतावास तथा नियोगहरूमा कार्यक्रम नै भएको उनीहरूले पठाएको विज्ञिप्तीमा उल्लेख छ।

राजदूतहरूले कार्यक्रममा उपस्थित नेपाली तथा आफ्ना कार्यालयका अधिकारीसामु भने, ‘लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति, विकास तथा सुशासन कायम गर्नु सबै नेपालीको दायित्व हो।’ उनीहरूले दूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै यस्ता कार्यक्रम गरेका छन्।

प्रकाशित: १६ जेठ २०८१ १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =