धुर्मुस-सुन्तलीले थालेको क्रिकेट रंगशाला बजेटको प्राथमिकतामा

हिमाल प्रेस १६ जेठ २०८१ १०:३१
धुर्मुस-सुन्तलीले थालेको क्रिकेट रंगशाला बजेटको प्राथमिकतामा चितनवको गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट मैदान फाइल तस्बिर

चितवन- देशकै विकासको नमूना पालिका बनाउन लागिएको चितवनको भरतपुर महानगरपालिकाका ठूला आयोजना आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समेटिएका छन्।

भौतिक पूर्वाधारको हिसाबले भरतपुर महानगरपालिका अग्रस्थानमा छ।
महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार ठूला आयोजना आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समेटिएका छन्।

भरतपुर विमानस्थल विस्तार गर्न बजेट विनियोजन भएको छ। विमानस्थल विस्तार भएसँगै ठूला जहाजले रात्रिकालीन उडानसमेत भर्नेछन्। भरतपुरमा रहेको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्न लागिएको हो। प्रमुख दाहालले भनिन्, ‘पहिलोपटक म प्रमुख भएपछि पहल थालिएको यो आयोजनाले मूर्तरूप लिनेछ।’

धुर्मुस–सुन्तली फाउण्डेशनले सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण अगाडि बढाइने बजेटमा उल्लेख छ।

यसका लागि भरतपुर महानगरले बोलपत्र आह्वान गरिसकेको छ। यसअघि एउटा मात्र बोलपत्र परेपछि पुनः बोलपत्र आह्वान गरिएको प्रमुख दाहालले बताए।

लुम्बिनी, भरतपुर र पोखरालाई मिलाएर त्रिभुज आर्थिक परियोजना अगाडि बढाइने बजेटमा उल्लेख छ। यी सहरमा आर्थिक तथा पर्यटकीय पूर्वाधार र प्रवर्द्धन गरिने भएको छ।

प्रमुख दाहालका अनुसार भरतपुरलाई पर्यापर्यटनको नमूना सहरका रूपमा विकास गर्नेगरी बजेट विनियोजन गरिएको छ। यसले देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनलाई पोखरा र लुम्बिनीसँग जोड्ने छ।

भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाइने भएको छ। यससँगै आगामी आर्थिक वर्षबाट यहाँ सरकारी तवरमा एमबीबीएसको पढाइ गर्न सकिने भएको छ।

नारायणी नदीमा टर्मिनल भवन निर्माणसहितको जलमार्ग निर्माणकार्य अगाडि बढाउन बजेट विनियोजन गरिएको छ। यसले यहाँको जलपर्यटनमा ठूलो टेवा पुग्ने छ।

नारायणी नदीमा सिग्नेचर पुल निर्माण सम्पन्न कार्यका लागि बजेटको व्यवस्था गरिएको छ। पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरिसकेका छन्।

यससँगै नारायणी तटबन्धलगायतका अन्य क्षेत्रमा बजेट विनियोजन भएको छ। माडी जाने हुलाकी सडक, शक्तिखोर औद्योगिक क्षेत्रलगायतलाई बजेटले समेटेको प्रमुख दाहाल बताउँछन्।

महानगरभित्रका ठूला आयोजना आगामी आवको बजेटमा परेका छन्।

अहिले बजेट परेका कतिपय आयोजना आफूले सात वर्षदेखि निरन्तर विभिन्न निकायमा पहलकदमी र आग्रह गरेकै कारण सफल भएको उनी बताउँछन्। यी आयोजना भरतपुरको विकासका लागि कोशेढुंगा हुने प्रमुख दाहालले बताइन्।

प्रकाशित: १६ जेठ २०८१ १०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =