विपद्मा सूचनाको भरपर्दो साथी रेडियो

हिमाल प्रेस १५ जेठ २०८१ २०:५७
14
SHARES
विपद्मा सूचनाको भरपर्दो साथी रेडियो

काठमाडौँ- विपद्का समयमा सूचनाका लागि भरपर्दो माध्यम सामुदायिक रेडियो भएको सरोकारवालाले बताएका छन्। सामुदायिक सूचना नेटवर्क सीआईएनको १६ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विपद्मा सामुदायिक रेडियो विषयक अन्तरक्रियाका सहभागीले विपद्का बेलाको मनोसामाजिक परामर्शका लागि समेत अतिउपयोगी भएको उनीहरूले बताएका हुन्।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विपद्का समयमा सञ्चारमाध्यमको भूमिका अति नै महत्त्वपूर्ण हुने र त्यसमा पनि सामुदायिक रेडियो अझै प्रभावकारी रहेको पाइएको बताए।
उनले यस पटकको विपद्को पूर्व तयारी र विपद्का समयको तयारीका लागि गृह मन्त्रालयले सबै निकाय समेटेर टास्क फोर्स बनाउने निर्णय नै गरिसकेको जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटीको विपद् व्यवस्थापन शाखाका प्रमुख सागर श्रेष्ठले पछिल्लो समय रेडियोका श्रोता घटेको भन्ने गरिए पनि अहिले पनि बहुसंख्यक नेपाली र नेपालको अधिकांश क्षेत्रमा सूचनाको पहिलो स्रोत रेडियो नै रहेको बताए।

देशका सबै भागमा इन्टरनेटको पहुँच पुगिसकेकाले समुदायको साथी रेडियो नै भएको श्रेष्ठको भनाइ छ।

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुरप्रसाद भण्डारीले विपद्सँग सम्बन्धित समुदायका हरेक चासो र चिन्तामा सामुदायिक रेडियो सँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।

सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले विपद्का समयमा सामुदायिक रेडियोले नागरिकलाई सूचना, सञ्चार, शिक्षा र मनोवैज्ञानिक सहजीकरणमा अतुलनीय योगदान गरेका कारण जापान लगायत देशमा राज्यले नै सामुदायिक रेडियोलाई जगेर्ना गरेर राखेको उल्लेख गरे।

स्थापना दिवसको अवसर पारेर तीन जना सीआईएनकर्मीलाई पुरस्कृत गर्ने घोषणा गरिएको छ। जसमा सीआईएन काठमाडौँबाट सजना तिमल्सिना, रेडियो साथी झापाकी शुष्मा राजवंशी र रेडियो मुगु मुगुका खड्क सुनार रहेका छन्। तीनैजनाले जनही १५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।

प्रकाशित: १५ जेठ २०८१ २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast