व्यक्तित्व

उसुमा चम्किएका दीपक

रमा केसी १६ जेठ २०८१ १२:१९
354
SHARES
उसुमा चम्किएका दीपक दीपक हमाल

दीपक हमाल सामान्य परिवारमा जन्मिएका हुन्। त्यसैले उनले सानैदेखि पैसा कमाएर धनी हुने सपना देखेका थिए। रोजाइ थियो ब्रिटिस आर्मीमा भर्ती हुने। सबैका योजना कहाँ पूरा हुन्छन् र? अनि सबै सपना साकार पनि त हुँदैनन्। समय र परिस्थितिले लाहुरे हुन नदिएपछि दीपक अन्यत्र मोडिए।

ब्रिटिस आर्मीमा भर्ती भएका थिए भने आर्थिक रूपमा सम्पन्न भएर पनि दीपक यति बेला गुमनाम हुन्थे होला। अब त्यस्तो अवस्था रहेन। आर्थिक अवस्था जेजस्तो भए पनि उनको पहिचान देशव्यापी छ। बुबा गोपाल हमाल र आमा सेतुमैया हमालका दोस्रो सन्तान दीपकलाई उसु खेलले ‘दीपक’ बनाएको छ।

२०४९ साल असोज १५ गते सुर्खेतको छिन्चुमा जन्मिएका दीपक कक्षा १२ सकेपछि उसुमा पूर्ण रूपमा सक्रिय भएका हुन्। विभिन्न प्रतियोगितामा स्वर्ण र कास्यपदक जितेका उनले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका छन्।

सुरुमा फिटनेसका लागि खेलकुद रोजेका उसु खेलाडी दीपक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिएका छन्। उनले २०६८ सालदेखि उसु खेल्न थालेका हुन्। प्रकाश लामाबाट प्रशिक्षण लिएका दीपकले २०७० मा राष्ट्रिय प्रतियोगितामा भाग लिए। लगत्तै उनले २०७० मा नवौँ राष्ट्रिय उसु च्याम्पियनसिपमा प्रतिस्पर्धा गरे। उनी सम्झन्छन्, ‘डेब्यु प्रतियोगितामा पदक त जित्न सकिएन तर सम्भावनाको यात्रा सुरु भयो।’

लगातारको प्रयासले सम्भावनाको ढोका खोल्न सफल भएको उनी बताउँछन्। दीपकले २०७३ मा विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुदमा मध्यपश्चिमबाट प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा केही पदक जितेका उनले थाइल्यान्डमा भएको प्रतियोगितामा स्वर्ण पदक जित्ने अवसर पाए। जसले गर्दा एकातिर हौसला र अर्कोतिर अझ दृढ भएर लाग्ने प्रेरणा मिलेको उनी बताउँछन्।

दीपक सन् २०१८ मा रुसमा भएको १४औं वर्ल्ड उसु च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भए। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका उनले पदक हात पार्न नसके पनि ६८ राष्ट्रमध्ये २०औँ स्थानमा उभ्याउन सफल भए। सन् २०१९ मा चीनको संघाईमा भएको १५औँ वर्ल्ड उसु च्याम्पियनसिपमा पनि उनी उत्कृष्ट २० खेलाडीभित्र पर्न सफल भएका थिए। स्वदेशमै आयोजना भएको १३औँ साग भने उनका लागि इतिहास रच्ने अवसर भयो।

कोभिड १९ का कारण उनले दुई वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाएनन्। गत वर्ष चीनको हाङचाओमा आयोजित १९औँ एसियाली खेलकुदमा उनले सहभागी २० मध्ये उनले १२औँ स्थान हासिल गरे। हालै चीनको जिङज्याङ सहरमा आयोजना भएको वर्ल्ड कपको छनोटमा उनले दुई कांस्य पदक हात पारेका छन्। उनले नानछ्वान र तुइलिनमा तेस्रो स्थान हात पारेका थिए। ‘यस्ता प्रतिस्पर्धामा भाग लिँदा मिहिनतको खाँचो अझै रहेछ भन्ने महसुस हुन्छ’, उनी भन्छन्।

उनी आगामी अक्टोबरमा जापानमा हुने उसु वर्ल्डकप प्रतियोगितामा छनोट भएका छन्। प्रतियोगितामा सफलता हात पार्ने मात्र होइन आफूप्रतिको खेलको क्षेत्रको विश्वाससमेत दिलाउने गरी तयारी गरिरहेको उनले बताए।

‘उसु वर्ल्डकप लगायतका प्रतियोगितामा पदक जित्ने लक्ष्य छ। यसमा प्रकाश महर्जन गुरुले प्रशिक्षण दिइरहनुभएको छ’, दीपकले भने। उनलाई नेपाल उसु महासंघले पनि वैदेशिक प्रशिक्षण गराउने आश्वासन दिएको छ। ‘जसले गर्दा मलाई हौसला थपिएको छ’, उनी भन्छन्, ‘वैदेशिक प्रशिक्षण भएमा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन मद्दत पुग्नेछ।’

सम्झनामा रुस

दीपक सन् २०१७ मा पहिलोपल्ट नेपालबाट खेल खेल्न जाँदा गुरुहरू साथमा थिएनन्। त्यति बेला आफूलाई एक्लो महसुस भएको उनी बताउँछन्। ‘रुसमा खेल खेलियो तर आफ्नो सपोर्टमा कोही नहुँदा नर्भस भएर पनि खेल हारिएको हो कि जस्तो लाग्छ। गुरुहरूको पनि साथभएको भए सायद खेल जित्न पनि सकिन्थ्यो होला’, उनले भने। अन्य देशका खेलाडीको उत्साह बढाउन गरिएका व्यवस्थापनको बयान गर्नै नसकिने उनको अनुभव छ। ‘त्यस्तो बयान हाम्रो सरकारलाई बनावटी कहानीजस्तो लाग्न सक्छ’, दीपकले तितो अनुभव सुनाए।

एउटै खेलको दुई महासंघ हुँदा समस्या

एउटै खेलको दुईवटा महासंघ हुँदा समस्या भएको बताउँछन्, दीपक। उसुका दुई महासंघ छन्। जनक बर्तौला नेतृत्व महासंघलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छ भने वीरबहादुर लामा नेतृत्वको महासंघलाई नेपाल ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय उसु महासंघको मान्यता छ।

‘दुईवटा महासंघ हुँदा खेलाडीले दुःख भोग्नुपरिरहेको छ। कुन कामका लागि कुन महासंघमा जाने भन्ने अन्योल छ’, उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय मान्यता प्राप्त महासंघले भने खेलाडीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ। तर पनि दुईवटा संघ हुँदा समस्या त भइहाल्छ।’
एउटा महासंघले एउटा विषयको उठान गरिरहेको बेलामा अर्कोले अर्कै विषयवस्तुको उठान गरिदिन्छ।

कर्णालीको हुँ भन्दा गर्व लाग्छ : दीपक

दीपकले राष्ट्रिय प्रतियोगिताहरू कर्णाली प्रदेशबाट खेल्दै आएका छन्। कर्णालीबाट खेल्दा आफूलाई गर्व लाग्ने उनले बताए। ‘आफू जन्मिएको ठाउँ चिनाउन पाउँदा गर्व लाग्दो रहेछ। मलाई विभागीय टोलीबाट खेल्न धेरै पटक प्रस्ताव आयो। तर मैले विभागका नामबाट भन्दा आफ्नै प्रदेशबाट खेल्ने निर्णय लिएर अघि बढिरहेको छु’, उनले भने, ‘कुनै पनि विभागमा गइनँ। विभाग बाहिरका खेलाडीका लागि बग्रेल्ती समस्या छन्। सबैभन्दा ठूलो समस्या त आर्थिक नै छ।’

खेल जीवनबाट आफू सन्तुष्ट भए पनि राज्यबाट पाउनुपर्ने सेवासुविधा नपाउँदा गाह्रो भएकोे गुनासो दीपकको छ। उनले भने, ‘सरकारले आश्वासनमात्र दिन्छ खेलाडीको भविष्य सोचेर सेवासुविधा दिएमा अघि बढ्न सजिलो हुन्छ।’

दीपक राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको विशेष प्रशिक्षणमा सहभागी छन्। परिषद्ले बिहानको ‘डाइट’ खर्च दिँदै आएको छ। एकातिर घर छाडेर बाहिर बस्नुको पीडा छ। ‘डाइट’ खर्चले काठमाडौँमा बसेर प्रशिक्षण गर्न समस्या भइरहेको गुनासो त दीपकसँग छँदैछ।

यसरी मर्‍यो लाहुरेको सपना

दीपक सानोमा चकचके स्वभावका थिए। पढ्नभन्दा खेल्नमा बढी समय बिताउँथे। उनी सम्झन्छन् साथीभाइसँग मिलेर विद्यालयबाट भागेको अनि खोलामा पौडी खेल्न गएका क्षणहरू। साथीसँग मिलेर छिमेकीकी बगैँचामा फलफूल चोरेर खाएको। बाल्यकामा साथीसँग रमाइलो गरेका ती दिन याद आइरहने उनी सुनाउँछन्। ‘स्कुल बिदा हुँदा निकै रमाइलो लाग्थ्यो। पढ्न भन्दा पनि खेल्नमा बढी रुचि हुन्थ्यो।’ वर्षाको भेलमा पनि पौडी खेल्न गएको अनि आमाबाले थाहा पाएपछि कुटाइ खानुपरेको घटना बिर्सनै नसकिने बताउँछन् उनी।

१० कक्षा पास गरेपछि छोराले राम्रोसँग पढोस् र भविष्यमा आफ्नो सहारा बनोस् भन्ने लागेर अभिभावकले उनलाई पढ्न भनेर काठमाडौँ पठाए। दीपकले विगत सम्झे, ‘खेल सानैबाट खेलिन्थ्यो तर खेलमै जीवन समर्पण गर्ने बनाउने सोच थिएन। मेरो सपना लाहुरे भएर केही गर्छु भन्ने थियो।’ उनी २०७७ सालमा ब्रिटिस आर्मीमा भर्ती हुन गए। त्यसमा भर्ती हुन नसकेपछि शरीरलाई राम्रो बनाउन खेलमा प्रवेश गरेको उनले बताए। अब भने उनलाई खेलका माध्यमबाट कर्णालीको पहिचान थप उँचो बनाउने चाहना छ।

दीपक खेलकुद प्रतियोगितामा भाग लिन सातै प्रदेश पुगेका छन्। साथै उनी खल्नकै लागि चीन, रुस, थाइल्यान्डलगायतका देशमा पुगिसकेका छन्। अब छिट्टै जापान जाने तयारीमा रहेको उनले बताए।

दीपकको खेलकुदमै बढि रुचि छ। खेललाई जीवन बनाएर अघि बढ्ने सपना साकार पार्नुछ। भविष्यमा खेलाडी उत्पादन गर्ने र आफू प्रशिक्षकका रूपमा सक्रिय रहने योजना रहेको उनी सुनाउँछन्।

दीपकको घरमा दिदीसहित चारजनाको सानो परिवार छ। दीपकको बाल्यकाल भेरीगंगामा बितेको हो। कक्षा ५ सम्म घरनजिकैको अमिलाचौर प्राथामिक विद्यालयमा अध्ययन गरेका उनले छिन्चु बजारमा रहेको शारदा माध्यामिक विद्यालयबाट १० कक्षा पास गरे। एसएलसी सकेर काठमाडौँ गएका उनले १२ कक्षापछि खेलकुदलाई प्राथामिकता दिएका हुन्। हमालले खेल क्षेत्रमा १३ वर्ष बिताइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =