विपद्को पूर्वतयारी गर्न र विपद्पछि पनि तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस १४ जेठ २०८१ १९:४२
10
SHARES
विपद्को पूर्वतयारी गर्न र विपद्पछि पनि तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरी विपद्को पूर्वतयारी गर्न र विपद्पछि पनि तत्काल राहत उपलब्ध गराउने प्रवन्ध मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

मन्त्रालयमा सोमबार ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८१’ को मस्यौदा उपर भएको छलफलमा मन्त्री लामिछानेले जनताको ज्यान जोगाउनु सरकारको मुख्य दायित्व हुने बताए। उनले भने,  ‘आपत्–विपद्मा नागरिकलाई अझ बढी सरकारको साथ चाहिन्छ। यो मनसुनमा हुने विपद्का घटनामा नागरिकले सरकारको पूर्ण अनुभूति गर्न सक्नुपर्छ, त्यहीअनुसार योजना बनाएर कार्यान्वयन गर्नुहोला।’

मन्त्री लामिछानेले राहत र उद्धारको लागि गृह मन्त्रालयको नेतृत्वमा ‘टास्क फोर्स’ बनाउन, जिल्ला–जिल्लामा ‘हेल्प सेन्टर’ स्थापना गर्न, जोखिमयुक्त पहिचान भएका ठाउँमा पूर्वसावधानीको सचेतनाका लागि जनशक्ति परिचालन गर्न, विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत गैर–सरकारी निकायसँग समन्वय र उद्धारको पूर्वाभ्यास निरन्तर गर्न पनि आग्रह गरे। ‘आवश्यकताअनुसारको सहयोग सबैबाट लिनुपर्छ। तर, कम्तीमा १५ दिन थेग्ने स्रोत–साधन सरकारसँग हुनुपर्छ,’ मन्त्री लामिछानेले भने, ‘विपद्का बेला प्रभावितबीच सबैभन्दा पहिला राज्य पुग्नुपर्छ।’

विपद् व्यवस्थापबारे नीतिगत निर्णय गर्नुपर्ने विषय भए तत्काल आफू समक्ष ल्याउन आग्रह गरेका मन्त्री लामिछानेले पूर्व तयारीसहित विपद् व्यवस्थापनमा स्थानीय सरकारसँगको पर्याप्त समन्वयमा पनि जोड दिएका छन्।

छलफलमा गृहसचिव एकनारायण अर्यालले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा तयार भएको कार्ययोजना एक साताभित्रै पारित गरेर कार्यान्वयनमा लैजाने जानकारी दिँदा सुरक्षा निकायका प्रमुखले विपद्का बेला सरकारी निकायबीचको समन्वय प्रभावकारी नहुँदा पनि समस्या आउने गरेको औंल्याएका थिए।

प्रकाशित: १४ जेठ २०८१ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =