पदाधिकारी बैठक सकेर कांग्रेस नेताहरू पुगे बालुवाटार

हिमाल प्रेस १४ जेठ २०८१ १७:३२
54
SHARES
पदाधिकारी बैठक सकेर कांग्रेस नेताहरू पुगे बालुवाटार सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सहकारी रकम अपचलनबारे बन्ने संसदीय छानबिन समितिको कार्यदेश बनाउन बनेको कार्यदलको हालसम्मको प्रगतिबारे ब्रिफिङ गरिएको छ।

‘बचतकर्ताको रकम फिर्ता ग्यारेन्टी गर्ने र गोर्खा मिडिया नेटवर्कमा भएको लगानी अपचलन बारेमा संलग्न सबैको बारेमा छानबिन गर्ने विषय राखेका छौँ,’ कार्यदलका सदस्यसमेत रहेका सहमहामन्त्री जीवन परियारले भने, ‘हामी कतिसम्म लचिलो बन्न सक्छाैँ त्यो बैठकमा भन्छौँ।’

कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर छानबिन समितिले अध्ययन गर्न पाउनुपर्ने अडान लिएको छ। सत्तापक्षले भने व्यक्तिको नाम किटान गर्न नहुने अडान लिँदा हालसम्म सहमति हुन सकेको छैन।

परियारले बैठकमा ब्रिफिङ गरेसँगै सभापति शेरबहादुर देउवाले कांग्रेसको माग र अडान यथावत रहेको दोहोर्‍याएका थिए। सरकारसँग सहमति नभए बजेट आउने समयमा संसद्को अवरोध कायमै रहने पनि कांग्रेसले जनाएको छ।

पदाधिकारी बैठक सकेसँगै कांग्रेस नेताहरू अहिले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न बालुवाटार पुगेका छन्। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा महामन्त्री गगन थापा, सहमहामन्त्री परियार र नेता ज्ञानेन्द्र कार्की बालुवाटार गएका छन्। जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस गर्ने संघीय संसद्को कार्यसूची छ। त्यसअघि नै दलहरूबीच संसदीय छानबिन समिति बनाउने सहमति बनाउन सत्तापक्ष र प्रतिपक्ष दुवै सक्रिय भएका छन्।

प्रकाशित: १४ जेठ २०८१ १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 14 =