दिवा खाजा, ईसीडी तलबमा सरकारले जनायो सहमति, चापागाईँको धर्ना स्थगित

हिमाल प्रेस १३ जेठ २०८१ २०:५३
9.1k
SHARES
दिवा खाजा, ईसीडी तलबमा सरकारले जनायो सहमति, चापागाईँको धर्ना स्थगित

काठमाडौँ– प्रारम्भिक बालविकास शिक्षा सुधारको माग राखेर माइतीघर मण्डलामा उभिएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँको धर्ना स्थगित भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्ना मागहरूमा सहमति जनाएपछि १२ औँ दिनमा धर्ना स्थगित गरिएको युनियनले जनाएको छ। युनियन डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को भातृ संगठन हो। चापागाईँ जेठ २ गतेदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उभिएका थिए।

युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हामीले उठाएका पाँचवटा मागहरूप्रति शिक्षामन्त्री सुमना श्रेष्ठद्वारा जारी श्वेतपत्रमार्फत अधिकांश माग सम्बोधन गरिएकोमा नेपाल समाजवादी विद्यार्थी युनियनको तर्फबाट मन्त्रालय र मन्त्रीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।’ हाल प्रारम्भिक बालविकास एक तहको छ। सरकारले नै नीजी विद्यालयलाई चार तहको मान्यता दिएको छ। युनियनले यहाँ नीतिगत विरोधाभाससहित गम्भीर कमजोरी भएको बताएको छ।

युनियनले बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय कानुन हेरेर नीतिगत रूपमा नै सच्चाएर समान तीन तहको ईसीडीको व्यवस्था गर्नुपर्ने माग अघि सारेको थियो। युनियनको भनाइमा यस विषयप्रति मन्त्रालयले ‘प्रारम्भिक तथा बालविकास शिक्षाप्रणालीमा परिमार्जन गरिनेछ’ भनी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको बुँदा १४२ मा समावेश गरेको जनाएको छ।

जेठ १५ गते आउने बजेट वक्तव्यमा ईसीडी शिक्षाप्रणाली नीतिगत प्रबन्धबारे पहिलो बुँदाका रूपमा प्रस्ताव गरी एकिन विवरण सार्वजनिक हुने मन्त्रालयले प्रतिबद्धता जनाएको युनियनले विज्ञप्तिमा उल्लेख गरेको छ। ईसीडीलाई संस्थागत र सार्वजनिक दुवैतिर समान वर्षको बनाउने व्यवस्था गर्ने प्रतिबद्धता पनि मन्त्रालयले जनाएको छ।

युनियनको दोस्रो माग थियो ईसीडी शिक्षकको तलब वृद्धि र तालिमको व्यवस्था। यस विषयमा पनि शिक्षा मन्त्रालयले सहमति जनाएको युनियनको भनाइ छ। बजेटमा ईसीडी शिक्षककेन्द्रित गहन प्रशिक्षणसम्बन्धी नयाँ कार्यक्रम प्रस्ताव गरेका छौँ भन्ने शिक्षामन्त्री श्रेष्ठले श्वेतपत्रमार्फत जानकारी गराएकी छन्। त्यसैगरी मन्त्रालयले ईसीडी शिक्षकलाई सम्बोधन गर्न नीति तथा कार्यक्रमको बुँदा नम्बर १४७ मा ‘बुटक्याम्प मोडल’ आवश्यक जनशक्तिको गुणस्तर वृद्धि गर्ने नीति लिएको पनि युनियनले जनाएको छ।

युनियनको तेस्रो मागको रूपमा रहेको प्रारम्भिक बालविकास केन्द्रमा पूर्वाधार विकास र शैक्षिक सामग्रीका लागि बजेट विनियोजनबारे पनि मन्त्रालयले सहमति जनाएको छ। प्रतिविद्यार्थी दिवा खाजालाई १५ बाट ५० रुपैयाँ पुऱ्याउनुपर्ने युनियनको मागमा पनि शिक्षा मन्त्रालयले सहमति जनाएको छ।

ईसीडीमा तीनै तहको क्षेत्राधिकार स्पष्ट पार्नुपर्ने युनियनको पाँचौंमाग मन्त्रालयले संविधानमार्फत विद्यालय शिक्षालाई पालिकाको अधिकारक्षेत्रमा राखिएको र विद्यालय शिक्षामा अझै पनि कानुनी तथा नीतिगत स्पष्टताको अभाव छ रहेको बताउँदै यसका लागि शिक्षा ऐन नै आउनुपर्ने जनाएको छ। सो ऐन अहिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको छ। सो ऐनलाई यथाशीघ्रअगाडि बढाउन पहल गरेको मन्त्रालयले जनाएको छ। युनियनले ‘शिक्षा विधेयकमा ‘ईसीडीलाई आधारभूत विद्यालय तहमै समेट्ने गरी परिमार्जन गरिनेछ’ भन्ने प्रतिबद्धता जाहेर भएको जनाएको छ।

धर्नामा रहेका बेला चापागाईंलाई शिक्षामन्त्री श्रेष्ठले जेठ ६ गते भेटेकी थिइन्। चापागाईँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि श्रेष्ठले जेठ ११ गते चापागाईँलाई मन्त्रालयमै वार्ताका लागि बोलाएकी थिइन्। वार्ता भने निष्कर्षविहीन भएको थियो। त्यसको भोलिपल्ट मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत चापागाईँले उठाएका मागलाई सम्बोधन गरिन्।

अध्यक्ष चापागाईँको एकल धर्नालाई नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिले ऐक्यबद्धता जनाएकाे थियाे। उक्त समिति अध्यक्ष कृष्ण कुमारी थापा मगरले देशभरका बालविकास शिक्षकलाई विद्यालयमा खाजा खाने समयमा उभिएर चापागाईँको धर्नालाई एक्यबद्धता जनाउन निर्देशन दिएकी थिइन्। अध्यक्ष थापाको निर्देशन अनुसार बालविकास शिक्षकले ऐक्यबद्धता जनाएका थिए। काठमाडौँ उपत्यका आसपास जिल्लाका ईसीडी शिक्षकहरू भने धर्नास्थल माइतीघरमा नै आएका थिए।

त्यसैगरी अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघलगायतका विद्यार्थी संगठनहरूले पनि ऐक्यबद्धता जनाएका थिए।

यस्ताे छ विज्ञप्ति

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twelve =