किम्फको २१औं संस्करण जेठ १६ देखि

२२ देशका ६० भन्दा बढी फिल्म देखाइने

हिमाल प्रेस १३ जेठ २०८१ १५:४४
10
SHARES
किम्फको २१औं संस्करण जेठ १६ देखि

काठमाडौँ- काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औं संस्करण आगामी २९ मे अर्थात् जेठ १६ देखि सुरु हुने भएको छ। महोत्सव प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुन लागेको हो। ‘परिवर्तनको प्रतिध्वनि’ भन्ने नारासहित सुरु हुने महोत्सवमा २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिनेछन्।

किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश छन्। यसैगरी नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्चक फिल्महरु प्रस्तुत हुनेछन् जसले समकालीन नेपालको कथा उजागर गर्नेछ।

महोत्सव इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को एसिया प्रिमियरबाट सुरु हुनेछ। नेपालमा छायांकन गरिएको यो वृत्तचित्र एक युवाको कथा हो, जो बाघको बच्चालाई सिकारीबाट बचाउन देशव्यापी साहसिक यात्रामा निस्कन्छ।

महोत्सवमा ‘एभरेस्ट रिभिजिटेड १९२४-२०२४’ शीर्षकमा चलचित्रसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासको दुर्लभ तस्बिरहरू प्रदर्शनी हुनेछ। यसैगरी नेपाल-कोरिया मित्रताको ५० औँ वर्षको उपलक्ष्यमा दुई देशबीचको समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्महरूको विशेष प्रदर्शन हुनेछन्।

महोत्सवमा ‘माउन्टेन्स म्याटर- अ कल फ्रम द हिमालयज’ शीर्षकको अन्तर्क्रिया र अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागसँगको सहकार्यमा ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकको प्यानल छलफल हुनेछ।

किम्फ-२०२४ को निर्णायकमा निर्देशक र निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल) र चलचित्र सम्पादक रेजिना बर्त्स्की (स्विट्जरल्यान्ड) छन्। उनीहरुले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल प्यानोरमा विधाका १३ वृत्तचित्र र १६ आख्यान मध्येवाट विजेता छनोट गर्नेछन्।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानकलाई १ हजार डलर पुरस्कार प्रदान गरिनेछ।

नेपाल पानोरमामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रले क्रमशः एक लाख रुपियाँ प्राप्त गर्नेछन्। यसैगरी दर्शक पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ।

महोत्सवको टिकट र सिजनल पास खल्ती एपबाट प्राप्त गर्न सकिनेछ। टिकटको मूल्य एक सय ५० र विद्यार्थीहरूको लागि एक सय रूपैंयाँ तोकिएको छ।

किम्फ फाउन्डरेसनकाे आयाेजना र काठमाडौँ महानगरपालिकाको सह-आयोजनामा हुने महोत्सव २ जून(२० जेठ) सम्म चल्नेछ।

प्रकाशित: १३ जेठ २०८१ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =