
काठमाडौँ- चर्चित र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो सिजनको अडिसन सुरु भइसकेको छ। दोस्रो सिजनको औपचारिक घोषणासहित केही दिन अघि निर्माण टिमले अडिसन खुलाएका हुन्।
डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने आयोजकले जनाएको छ। दोस्रो सिजनमा सहभागी हुनका लागि प्रतियोगीले दामी म्युजिक एप र www.nepalirap.com मार्फत आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन्।
साथै नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, अफिसियल Whatsapp number 9707259961 र [email protected] मा आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन्।
प्राप्त अडिसनमध्ये निर्णाण्क राउन्डबाट उत्कृष्ट प्रतियोगी छनोट गरिनेछ। डिजिटल अडिसनको लागि बिट Shreepech Studio युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपिराइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिने आयोजकले जनाएको छ।
कार्यक्रम भने असारको अन्तिम साताबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने आयोजकको तयारी छ। दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच २’का निर्देशकमा निकेश खड्का रहनेछन्।
सो को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन्। दोस्रो सिजनको निर्णयकमा पहिलेका मानस घले र गिरिश खतिवडाको साथमा महेश तामाङ ‘दोङ’ जोडिएका छन्। अघिल्लो सिजनमा दोङको स्थानमा बालेन शाह थिए।
काठमाडौँ महानगरपालिकाका मेयरसमेत रहेका बालेन भने केही एपिसोडमा सहभागी हुने कार्यक्रम निर्माता सुदिप पोख्रेलले बताए।
त्यस्तै कार्यक्रम सञ्चालकको रूपमा सुजता श्रेष्ठले नै निरन्तरता पाउने छिन् भने प्रसारण टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन तथा डिजिटलतर्फ ओएसआर रियालिटी रहेको छ।
‘नेपहपको श्रीपेच २’को विजेताले रु १० लाख नगद, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् साथै उपविजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन्।
‘नेपहपको श्रीपेच’को पहिलो सिजन भाईबर साइमनले जितेका थिए।