संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

हिमाल प्रेस १३ जेठ २०८१ ११:२०
4
SHARES
संसदीय समितिको कार्यादेशमा जुटेन सहमति फाइल तस्बिर

काठमाडौँ- सहकारी ठगीसम्बन्धी स‌ंसदीय समितिको कार्यादेशमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नाम समावेश गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आइतबार पनि सहमति हुन सकेन।

आइतबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा समितिको कार्यादेशबारे सहमति हुन नसकेकाे कांग्रेस नेताहरूले बताएका छन्। कांग्रेस नेताहरूले सहकारी ठगीसम्बन्धी संसदीय समिति बनाउँदा रवि लामिछानेको नाम खुलाउनुपर्ने अडान राखेका छन्।  सरकार भने गोरखा मिडिया नटवर्क मात्र लेख्ने पक्षमा छ। लामिछानेकै खातामा पैसा गएको देखिएकाले उनको नाम राखेर छानबिन गर्नुपर्ने कांग्रेस नेताहरू बताउँछन्।

देउवा-प्रचण्ड भेटपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘उहाँहरू गोरखा मिडिया नेटवर्क मात्र राख्ने अडानमा हुनुहुन्छ।’ आइतबार बिहान शीर्ष नेताहरू बसेर कार्यादेश टुंग्याउने तयारी थियो। सोही विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका थिए।

‘दुई नेताबीच संवाद भयो तर कुनै निचोड निस्किएको छैन। बेलुका बैठक बस्ने सहमति भयो’, प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय समितिको अडानसहित संसद् अवरुद्ध गरिरहेको छ। उसले आजैबाट सडक आन्दोलन तय गरेको छ। संसदीय समिति बनाउन सहमति भए पनि कार्यादेशमा विवाद छ। पटकपटक कार्यदलको बैठक बसे पनि निष्कर्ष निस्कन सकेको छैन।

कानुनमन्त्री पदम गिरी नेतृत्वको कार्यदलले पनि यही विषयमा निकास निकाल्न सकेको छैन।  ‘हामीबीच यही विषयमा विवाद छ। उहाँहरू मान्नुभएको छैन’, गिरीले भने। गिरी नेतृत्वको कार्यदलमा एमालेबाट महेश बर्तौला, रास्वपाबाट शिशिर खनाल र कांग्रेसबाट जीवन परियार सदस्य छन्। पछिल्लो समय कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र माओवादीबाट हितराज पाण्डेले पनि बैठकमा सहभागिता जनाएका थिए।

प्रकाशित: १३ जेठ २०८१ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast