आज कांग्रेसले काठमाडौँमा प्रदर्शन गर्दै

हिमाल प्रेस १३ जेठ २०८१ ८:१९
4
SHARES
आज कांग्रेसले काठमाडौँमा प्रदर्शन गर्दै फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले आज दिउँसो २ बजे भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकाविरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम कांग्रेसले प्रदर्शन सफल पार्न काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटा निर्वाचन क्षेत्रमा १५ जना केन्द्रीय प्रतिनिधि समेत खटाएको छ।

आज पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्न लागिएको हो।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको अर्बौँ रुपैयाँ सहकारीको बचत दुरुपयोग प्रकरणमा छानबिन गर्न नमानेको निष्कर्षसहित कांग्रेस आन्दोलनमा होमिएको हो।

आजको प्रदर्शनमा कांग्रेसले गिरिबन्धु टी–स्टेटमा भएको नीतिगत भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनुका साथै सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा सरकारलाई खबरदारी गर्ने जनाएको छ।

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन माग गर्दै कांग्रेसले एक महिनाभन्दा बढी समयदेखि सदन अवरुद्ध गरिरहेको छ।

प्रदर्शनको पूर्वसन्ध्यामा भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौंको प्रदर्शनीमार्गमा शनिबार सँझ राँके जुलुस निकालेको थियो।

प्रकाशित: १३ जेठ २०८१ ८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =