बुद्धजयन्ती : ‘आत्मज्ञान र ध्यान नै दुःखबाट मुक्त हुने उपाय’

दीपक न्यौपाने ११ जेठ २०८१ २१:२१
214
SHARES
बुद्धजयन्ती : ‘आत्मज्ञान र ध्यान नै दुःखबाट मुक्त हुने उपाय’ जीवन विज्ञान प्रतिष्ठानले बिहीबार काठमाडौँमा आयोजना गरेको विशेष सत्संगमा सहभागी।

काठमाडौँ- जीवन विज्ञान प्रतिष्ठानले काठमाडौँमा आत्मज्ञान र ध्यानसाधनाका बारेमा विशेष सत्संग आयोजना गरेको छ। २५ सय ६८ औँ बुद्धजयन्तीका अवसरमा आयोजित सत्संगमा विशेषज्ञहरूले आत्मज्ञान र ध्यानमार्गमा लाग्न सकेमात्रै जीवन सार्थक हुन सक्नेमा जोड दिएका छन्।

कार्यक्रममा जीवन विकास विशेषज्ञ रमेश नेपालले व्यक्ति आफूले केही पाएर कहिल्यै ठूलो नहुने तर उसले संसारलाई के दियो? त्योचाहिँ महत्त्वपूर्ण हुने तर्क प्रस्तुत गरे। उनले भने, ‘कसले कति धन पायो, कसले कति ज्ञान पायो, कसले बुद्धत्व र आत्मज्ञान पायो? त्यो महत्त्वपूर्ण हुने नभई व्यक्तिले संसारलाई के दियो? त्यो नै महत्त्वपूर्ण हो।’

विशेषज्ञ नेपालले संसारमा आनन्द पाउने र आनन्दमा डुब्ने ऋषिमनीषीहरू कैयौँ रहे पनि उनीहरूको हिसाब नभएको तर बुद्धले ज्ञान बाँडेकाले उनी कालजयी बनेको बताए। उनले भगवान् बुद्धले जीवन्त ज्ञान मात्र दिएको र कहीँ पनि काल्पनिक कुरा नगरेको स्पष्ट पारे।

भगवान् बुद्धलाई निरीश्वरवादी भनिए पनि बुद्धमा आत्मा र परमात्माको ज्ञान रहेको नेपालको दाबी थियो। तर संसारलाई जे आवश्यक थियो, त्यही मात्रै दिने जोड बुद्धमा रहँदा आत्मानुभूति र परमात्मानुभूति सामान्य मान्छेले गर्न सक्दैन भनेर यस्ता विषयमा उनले धेरै महत्त्व नदिएको नेपालको भनाइ थियो। उनले भने, ‘भगवान् बुद्धले आत्मा, परमात्मा र धेरै ठूला शास्त्रीय धर्मका कुरा गर्नु आवश्यक नठानेरै यस्ता प्रसंग उल्लेख नगरेका हुन्।’

जीवनमा सुखदुःख रहेको र त्यो सुखदुःख मनको कारणले रहेको स्पष्ट पार्दै विशेषज्ञ नेपालले हामीले सुखदुःख पायौँ भने त्यो आत्मा-परमात्माले गर्दा नभई मनको कारणले हुने नेपालले स्पष्ट पारे। उनले मान्छेको मूल नै ‘मन’ भएको समेत स्पष्ट पारे। बुद्धले जीवनका दुःख हटाएर सुख पाउने बाटो खोज्न सीधा, वैज्ञानिक र प्रामाणिक कुरा गरेको नेपालको भनाइ थियो। अहिले राम्रो गरे अहिल्यै खुसी आउने उल्लेख गर्दै नेपालले मन राम्रो भए सुख र मन नराम्रो भए दुःख हुने भएकाले यो तथ्यलाई बझ्नुपर्नेमा उनले जोड दिए।

भगवान् बुद्धले चार आर्यसत्य भनेर नयाँ सिद्धान्त प्रतिपादन गरेको उल्लेख गर्दै नेपालले जीवनमा दुःख छ भने त्यसको कारण र निवारण पनि सम्भव भएको चर्चा गरे। अष्टांगिक आर्यमार्गबाट दुःख हटाउन सकिने प्रसंग उल्लेख गर्दै नेपालले बुद्धका आठवटै मार्गले  मनसँग सम्बन्ध राख्ने जानकारी दिए।

जीवन विकास विशेषज्ञ रमेश नेपाल

मन नै सुख र दुःखको कारण रहेको भन्दै विशेषज्ञ नेपालले मन नै सर्वाधिक महत्त्वपूर्ण इन्द्रिय रहेको समेत स्पष्ट पारे। समयलाई दृष्टिगत गर्दै विशेषज्ञ नेपालले बुद्धको अष्टांगिक मार्गका दुईवटा विषयमा मात्र प्रकाश पारेका थिए।

भगवान् बुद्धले अष्टांगिक मार्गको पहिलो तहमा मनुष्यले के खोजेको हो? पहिले त्यसमा स्पष्ट हुन मानिसलाई प्रेरणा दिएको नेपालले औँल्याए। जसले जे भने पनि मानिसले खोजेको सुख हो भन्दै विशेषज्ञ नेपालले व्यक्तिको अन्तिम लक्ष्य सुख रहेकाले दुःख दिने बाटोमा हिँड्न नहुनेमा जोड दिए।

अरूलाई सताउने, डाहा गर्ने, वैमनस्य, झगडा, अर्काको आलोचना, असहयोग र रिस गर्ने जस्ता दुर्भावबाट बच्न नेपालले सबैलाई आग्रह गरे। लक्ष्यले व्यक्तिलाई बाटो देखाउने स्पष्ट पार्दै विशेषज्ञ नेपालले भने, ‘जस्तो लक्ष्य लिइन्छ, व्यक्तिले त्यस्तै कर्म गर्न थाल्छ। लक्ष्य सुख पाउनेछ भने व्यक्तिलाई कुलततिर लैजाने साथीसंगत पनि आफैँ छुट्न थाल्छ।’

बुद्धको अष्टांगिक मार्गमा उल्लिखित दृष्टिको प्रसंग उल्लेख गर्दै विशेषज्ञ नेपालले संसारलाई हेर्ने हाम्रो दृष्टि सत्यमा आधारित हुनुपर्नेमा जोड दिए। उनले सत्य हेर्ने हाम्रा आँखा टालिएको समेत बताए। आज हामीले जे देखिरहेका छौँ, त्यसलाई त्यही रूपमा हेर्ने क्षमताको विकास गर्नुपर्नेमा नेपालले जोड दिए। ‘कुनै व्यक्तिलाई हामीले अहिले देख्यौँ भने त्यसले हिजोअस्ति गरेको नराम्रो व्यवहारलाई मिसाएर हेर्दा हाम्रो दृष्टि धूमिल हुने मात्र नभई हामीले सत्य हेर्नै सक्दैनौँ’, उनले भने।

वनस्पति, प्रकृति र व्यक्ति कसैलाई पनि सत्य हेर्ने हाम्रा आँखा टालिएको उनले सोदाहरण चर्चा गरे। कामवासना र अनियन्त्रित इच्छाहरूले हाम्रो सत्यलाई टालेको नेपालको भनाइ थियो। उनले भने, ‘कुनै फूल हेर्यौं भने हामी भन्छौँ, ए, यस्तो फूल त मैले हिजोअस्ति पनि कति हेरेको थिएँ-थिएँ। यो फूलभन्दा त बरु हिजोअस्ति हेरेको फूल धेरै राम्रो वा हिजोअस्ति हेरेको फूलभन्दा यो फूलचाहिँ नराम्रो।’

हिजोअस्ति फुलेको फूलसँग वर्तमानमा फुलेको फूललाई मिसाइदिँदा वा एउटा रङमा अर्को रङ मिसाइदिँदा त्यो सत्यबाट अलगिएर तेस्रो वा भ्रम हुन पुग्ने नेपालको दाबी थियो। चलायमान प्रकृतिमा एउटै वृक्षका हिजो हेरेका पातहरू पनि हिजोका नभई आजका ताजा हुने भएकाले सत्य हेर्ने हाम्रो दृष्टि पनि स्पष्ट हुनुपर्नेमा उनले जोड दिए। भगवान् बुद्धले यस्तो सत्य हेर्ने दृष्टि खोल्न सिकाएको नेपालको भनाइ थियो। भगवान् बुद्धले कसैलाई पनि मान्न नसिकाएको तर वर्तमानको सत्य भने सिकाएको नेपालले बताए।

उनले भने, ‘यो क्षणलाई कसरी राम्रो बनाउने भन्ने कला भगवान् बुद्धले सिकाएका छन्।’ बुद्धले यथार्थ र वैज्ञानिक प्रणाली सिकाएकाले बुद्धको लोकप्रियता मात्र नबढी मानव मात्रलाई ठूलो गुन लगाएर गएको नेपालले बताए। विगत २५ सय वर्षदेखि अहिलेसम्म बुद्धको ज्ञान बासी नभएको र सदा-सदा काम लाग्ने ज्ञान दिएर गएको नेपालको भनाइ थियो।

जीवन विकास विशेषज्ञ एल पि भानु शर्माले भगवान् बुद्धको स्थान पशुहरूमा सिंह, वृक्षहरूमा पीपल र सेवन गर्ने पदार्थमा अमृतको जस्तै उच्च रहेको बताउँदै बुद्धको ज्ञान, ध्यान र सन्देशबाट हामी सिञ्चित भइरहेको प्रसंग उल्लेख गरे।  शर्माले पूजा गर्ने, शास्त्र पढेर तार्किक बहस गर्ने नभई भगवान् बुद्धले देखाएको बाटोमा हिँड्दा भवसागरबाट पार पाइने बताए।

भगवान् बुद्धले ‘म पनि तिमीजस्तै दुःखमा हुर्केको हुँ, हे मानव हो! तिमीलाई दुःखबाट बाहिर निस्कने बाटो सिकाउँछु, आऊ’भनेको सन्दर्भ सुनाउँदै विशेषज्ञ शर्माले बुद्धले दिएको ध्यानको विधि प्रयोग गरेर जीवनका दुःखबाट मुक्ति मिल्ने औँल्याए। उनले भने, ‘जुन कुरामा आफूले लगानी गरिँदैन, त्यसबाट प्रतिफल आउँदैन।  बिनाध्यान शान्त हुन खोज्नु परीक्षा नै नदिई पास हुन खोज्नु जस्तै हो। त्यसैले ध्यानमा अघि बढ्नुपर्छ।’

अध्यात्म यात्रामा प्रमाद बाधा रहेको स्पष्ट पार्दै विशेषज्ञ शर्माले ध्यानमा मन नलाग्नु प्रमाद भएको स्पष्ट पारे। ध्यान अक्रिया भएकाले यसमा सजग मात्र हुनुपर्नेमा उनले जोड दिए। मनले विचार चलाउने भएकाले त्यो क्रिया भएको भन्दै शर्माले प्रमादले दुःख ल्याउने स्पष्ट पारे।

जीवन विकास विशेषज्ञ एल पि भानु शर्मा।

ध्यान गर्दा मन भड्किएर मनले भनेको मानेर क्रिया गर्दा साधकलाई सफलता नमिल्ने भन्दै  शर्माले ध्यानमा स्थिर बस्न नसक्नु पनि प्रमाद भएको स्पष्ट पारे। मनको चञ्चलता वा मनले भनेको मान्नु तर गुरुले भनको चाहिँ नमान्नु पनि प्रमाद भएको शर्माले जानकारी दिए।

गुरुले दिने ध्यानका विधिहरू चिकित्सकहरूले लेखिदिने प्रेस्क्रिप्सनजस्तै भएको स्पष्ट पार्दै  शर्माले ध्यानचाहिँ साधक आफैँले गर्नुपर्नेमा जोड दिए। उनले स्थिर बसेर ध्यानको औषधि खान सबैलाई सुझाव दिए।

मनुष्यमा रहेको दुःख प्रमाद भएको स्पष्ट पार्दै  शर्माले दुःख रहुन्जेल जीवनमा ध्यान र धर्म नहुने स्पष्ट पारे। जन्म, मृत्यु, जरा र व्याधि दुःख भएको स्पष्ट पार्दै विशेषज्ञ शर्माले यी दुःख सबैलाई लाग्ने भएकाले बुद्धले सिकाएको ध्यानको बाटोमा अघि बढे दुःखबाट मुक्ति मिल्ने प्रकाश पारे।

भगवान् बुद्धले व्यावहारिक, प्रयोगात्मक र वैज्ञानिक ध्यान साधनाका विधिहरू दिएर गएको पनि शर्माले प्रकाश पारे। ध्यानले व्यक्तिलाई दुःखबाट मुक्त गरिदिने भएकाले ध्यानको बाटोमा अघि बढ्न शर्माले सबैलाई प्रेरणा दिए।

गुरु गोरखनाथको बाटोमा हाँस्दै, खेल्दै ध्यान गर्न सकिने उल्लेख गर्दै विशेषज्ञ शर्माले बुद्धको बाटो अलिक गाम्भीर्य रहेको प्रकाश पारे। साधना गम्भीर व्यक्तिको मात्र हुन नहुने र सबैले ध्यान गर्नुपर्नेमा पनि शर्माले जोड दिए।

व्यक्तिको धैर्य, इमानदारी, निष्ठा र कर्तव्यपरायण पनि ध्यान भएको स्पष्ट पार्दै  शर्माले संसारको कुनै पनि उपलब्धि ध्यानको जति नहुने बताए। विशेषज्ञ नेपाल र शर्माले बुद्धजयन्तीका अवसरमा केहीबेर ध्यान गराएका थिए। यसअघि दुई दिनसम्म दिनभर ध्यानकक्षमा सद्गुरुद्वय शर्मा र नेपालले जीवन विज्ञानका योग प्रशिक्षकहरूलाई लक्षित गरेर पुनर्ताजगी तालिम दिएका थिए। उक्त तालिमबाट झण्डै साढे चार सय प्रशिक्षक लाभान्वित भएका थिए। बिहीबार नै ‘गोरख जयन्ती’पनि परेकाले गुरु गोरखनाथ जयन्तीसमेत शुभकामना साटासाट गरी मनाइएको छ।

प्रकाशित: ११ जेठ २०८१ २१:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast