शीर्ष नेताहरूको बैठकमा के भयो?

हिमाल प्रेस ११ जेठ २०८१ २०:२९
56
SHARES
शीर्ष नेताहरूको बैठकमा के भयो?

काठमाडौँ- प्रमुख दलका शीर्ष नेताहरुबीच संसद्को गतिरोध हटाउने विषयमा सकारात्मक छलफल भएको छ।

प्रमुख दलका शीर्षनेताहरुबीच आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले छलफल सकारात्मक भएको जानकारी दिए।

बैठकमा संघीय संसद्को गतिरोध अन्त्य र सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समितिको टीओआर बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिसँग सकारात्मक छलफल भएको उनको भनाइ छ।

‘आजको बैठकमा छलफल सकारात्मक भएको छ,’ प्रमुख सचेतक बर्तौलाले भने, ‘नेपाली कांग्रेस सकारात्मक रुपमा प्रस्तुत भएको छ। संसद्को गतिरोध अन्त्य गर्न, संसदीय छानबिन समितिका लागि टिओआर निर्माण गर्न, गाँठो परेको विषयमा आ-आफ्नो तर्फबाट सहजीकरण गर्नेबारे सकारात्मक छलफल भयो।’

उनले सत्तापक्षका तर्फबाट यसमा लचकता भएको स्पष्ट पार्दै टीओआरमा व्यक्तिको नाम किटान गर्न सम्भावना नभए पनि त्यसबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राख्न खोजेको विषय पनि संसदीय छानबिन समितिको गरिमालाई कायम गर्ने गरी समझदारी भएको बताए।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउने विषयमा छलफल सकारात्मक भएको बताए। ‘सहकारीबाट रकम अपचलन, हिनामिना र ठगी भएको विषयमा संसदीय छानबिन समिति बनाउने भन्ने कुरा भएकै छ। उक्त समिति के र कस्तो बनाउने भन्ने विषयमा साथीहरुले काम गरिनै रहनुभएको छ, त्यसबारे टुंगो लगाउन आजको बैठकमा छलफल भएको छ,’ उनले भने।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखक, नेकपा (एमाले) का प्रमुख सचेतक बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायत नेताहरु सहभागी थिए।

प्रकाशित: ११ जेठ २०८१ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =