काठमाडौँ- सरकारले वैदेशिक रोजगारीका लागि आएका मागपत्र (डिमान्ड) प्रमाणीकरण अनलाइन प्रणालीबाट गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिमान्ड प्रमाणीकरण यही महिनाबाट सुरु गर्न लागेको हो।
सम्बन्धित देशका दूतावासले अनलाइनमार्फत प्रमाणीकरणको काम थालेपछि फाइल बोकेर रोजगारदाता कम्पनी र म्यानपावर कम्पनीका कर्मचारी दूतावास धाउनुपर्ने अवस्था अन्त्य हुनेछ। अहिले रोजगारदाता कम्पनी र म्यानपावरका कर्मचारी मागपत्र प्रमाणीकरणका लागि फाइल भोकेर भौतिक रुपमै दूतावास पुग्दै आएका छन्।
तीन वर्षयता वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सबै प्रक्रिया अनलाइनबाटै भइरहेको श्रम मन्त्रालयले जनाएको छ। मागपत्र प्रमाणीकरणको काम पनि यसै महिनादेखि अनलाइनबाट सुरु गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्द रिजालले जानकारी दिए।
रोजगारदाता देशका दूतावासबाट मागपत्र प्रमाणीकरण गर्ने सफ्टवेयर निर्माण भइसकेको छ। भरसक यही महिनादेखि अनलाइनबाटै मागपत्र प्रमाणीकरण सुरु गर्ने तयारी भइरहेको उनले बताए। ‘सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन अनलाइन प्रणालीबाटै मागपत्र प्रमाणीकरण सुरु गर्ने हो। त्यसका लागि आवश्यक जनशक्ति थप्न छलफल भइरहेको छ’, रिजालले भने। सम्बन्धित देशका दूतावासबाट अनलाइनमार्फत मागपत्र प्रमाणीकरण गरिने मन्त्रालयले जनाएको छ।
अनलाइनबाट मागपत्र प्रमाणीकरण गर्ने योजना २०७५ सालमै बनेको थियो। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले वैदेशिक रोजगारी क्षेत्रका सबै काम अनलाइन प्रणालीमार्फत गर्ने योजना अघि सारेका थिए। तीन वर्षपछि श्रम मन्त्रालयले २०७८ माघदेखि पुनः श्रम स्वीकृति अनलाइनबाटै वितरण गर्न सुरु गरेको थियो। गत वर्षदेखि व्यक्तिगत र संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट भइरहेको छ।
यूएईमा प्रक्रिया सुरु
अनलाइन प्रणालीमार्फत मागपत्र प्रमाणीकरणका लागि रोजगारदाता कम्पनीलाई ‘युजर आईडी’ उपलब्ध गराउन यूएईस्थित नेपाली दूतावासले आग्रह गरेको छ। दूतावासले सूचना जारी गर्दै यूएईका रोजगारदातालाई जेठ ११ गतेदेखि ‘युजर रजिस्ट्रेसन’ उपलब्ध गराउने आग्रह गरेको हो।
रोजगारदाता कम्पनीले ‘युजर रजिस्ट्रेसन’ गरिसकेपछि दूतावासबाट अनलाइन माग प्रमाणीकरणको काम सुरु हुने दूतावासको विज्ञप्तिमा उल्लेख छ। दूतावासले मागपत्र प्रमाणीकरणको काम अनलाइन प्रणालीबाट सुरु हुने जनाएको छ।
वैदेशिक रोजगारी पेपरलेस
दुई वर्षयता श्रम मन्त्रालयले सबै खालका श्रम स्वीकृतिलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाएको छ। कामदारले नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट एक घण्टाभित्र पाउने थालेका छन्।
मागपत्र प्रमाणीकरणबाहेक वैदेशिक रोजगारीका सबै काम अनलाइनबाट भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए। कामदारको मागपत्र ल्याएपछि रोजगारदाता कम्पनीको ‘युजर आईडी’ बनाएर मागपत्र प्रमाणीकरण हुनेछ। व्यक्तिगत श्रम स्वीकृति लिँदा सम्बन्धित देशको नेपाली राजदूतावासबाट कागजात प्रमाणीकरण आवश्यक पर्छ। यो काम पनि अब अनलाइनबाटै हुनेछ।
रोजगारदाताले सबै कागजपत्र, कामदार मागसंख्या र रोजगारीको विवरण दूतावासमा इमेलमार्फत पठाएपछि सामाजिक सुरक्षा, बिमा, सेवासुविधा र अन्य विषयमा अध्ययन गरेर भिसा प्रमाणीकरण गरिने श्रम मन्त्रालयले जनाएको छ। सम्बन्धित रोजगारदाता कम्पनीले इमेलमार्फत पठाएका सबै कागजात अनलाइनबाट परीक्षण गरी भिसा प्रमाणीकरण हुनेछ।
मात्रपत्रमा वैदिशक रोजगारीमा लागत खर्च, सेवासुविधा र अन्य आवश्यक कुरा प्रस्ट भएपछि मात्र प्रमाणीकरण हुनेछ। यसपछि वैदेशिक रोजगारीमा व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारदाता देशमा अलपत्र पर्ने, झुटो मागपत्र देखाएर ठगी गर्ने क्रम अन्त्य हुने विश्वास सरकारको छ। वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर, एजेन्ट, व्यक्तिगत दलाल र कन्सल्टेन्सीले झुटो प्रलोभन देखाएर ठग्ने र बढी रकम तिर्न बाध्य पार्ने प्रवृत्ति छ।
४४ देशबाट मासिक रुपमा ८० हजारभन्दा बढी रोजगारदाता देशबाट मागपत्र आवेदन आउने गरेको विभागले जनाएको छ। हाल खाडीका देश, युरोप, अफ्रिका र मलेसियाका रोजगारदाताले मागपत्र प्रमाणीकरणका लागि आवेदन दिने गरेका छन्।