स्थानीय सरोकारवालासँगकाे सहकार्यमा युएसएआईडीले लुम्बिनीमा सुरु गर्‍याे मायादेवी पदमार्ग विकास कार्यक्रम 

हिमाल प्रेस ११ जेठ २०८१ ११:२५
4
SHARES
स्थानीय सरोकारवालासँगकाे सहकार्यमा युएसएआईडीले लुम्बिनीमा सुरु गर्‍याे मायादेवी पदमार्ग विकास कार्यक्रम 

लुम्बिनी‍- स्थानीय सरोकारवालासँगकाे सहकार्यमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले लुम्बिनीमा मायादेवी पदमार्ग विकास कार्यक्रम सुरु गरेकाे छ।

अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि उक्त कार्यक्रम सुरु गरिएकाे बताए। मायादेवी पदमार्गले बुद्धकी आमा रानी मायादेवी हिँडेको बाटोलाई पछ्याउँछ। उनले कपिलवस्तुको दरबारबाट देवदहस्थित आफ्नो माइतीघरसम्म यात्रा गरी अन्ततः राजकुमार सिद्धार्थलाई पवित्र बगैँचामा जन्म दिएकी थिइन्।

‘मायादेवी पदमार्गको विकासले अद्वितीय किसिमको अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ,’ मिक्सले भने,‘विश्वभरका पर्यटकहरू यस ऐतिहासिक पदमार्गमा हिँड्न सक्नेछन्। यसबाट यो क्षेत्र र देशकै समृद्धिमा योगदान पुग्न सक्छ।’

युएसएआईडी र यसका साझेदारहरूको सहयोगमा मायादेवी ट्रेल रनका लागि हिजाे बुद्ध जयन्तीकाे दिन तिलौराकोटमा १०४ भन्दा बढी धावकहरू भेला भएका थिए। बुद्ध जयन्ती तथा बुद्धले बुद्धत्व प्राप्त गरेको दिनको अवसरमा आयोजित मायादेवी ट्रेल रनले यस क्षेत्रको पर्यटन विकास र लगानीको सम्भाव्यतालाई उजागर गरेको छ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मायादेवी ट्रेलको विकास र बजारीकरण गर्न युएसएआईडीको सहयोगका लागि धन्यवाद दिँदै यसले लुम्बिनी प्रदेश सरकारलाई आर्थिक नीतिमार्फत पर्यटन र सम्बन्धित गतिविधिहरूलाई प्राथमिकता दिन मद्दत गरेको बताए।

लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, योङ्ग इन्नोभेसन्स र अन्यसँगको सहकार्यमा युएसएआईडीले मायादेवी पदमार्गमा रहेका विभिन्न पर्यटकीय सम्पदालाई उजागर गर्न र निजी तथा सरकारी दुवै क्षेत्रको लगानी आकर्षित गर्न नवीन प्रविधि र साझेदारीको प्रयोग गरिरहेको छ।

२०२२ देखि युएसएआईडीको सहयोगले पर्यटन क्षेत्रका व्यवसायहरूलाई बिक्रीमा करिब ७० लाख अमेरिकी डलर बराबरको आर्जन गर्न मद्दत गरेको छ र नेपालमा पर्यटनको लागि १ करोड १० लाख डलर बराबरको नयाँ लगानीमा उत्प्रेरित गरेको छ।

यस कार्यक्रमअन्तर्गत चितवनका ५३ वटा होटल तथा रेस्टुरेरेन्टमा सेवा स्तरोन्नति, १५३ वटा समुदायमा आधारित होमस्टेको बढोत्तरी, अन्नपूर्ण सर्किट पदमार्गमा रहेका २५ ओटा लजहरूको पुनस्थापना र मायादेवी पदमार्गको प्रवर्द्धन लगायतका कार्यहरू रहेका छन्।

अमेरिका र नेपालबीचको साझेदारीका ७७ वर्ष मनाइरहँदा यो कार्य नेपालको समावेशी आर्थिक वृद्धिलाई मजबुत बनाउने अमेरिकी सरकारको प्रयासको महत्त्वपूर्ण हिस्सा भएकाे बताइएकाे छ।

प्रकाशित: ११ जेठ २०८१ ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =